प्रदेश १ कै केन्द्रविन्दु इटहरी आफैमा चर्चित सहर हो । चौरास्त सहर भएकै कारण विकासका हिसाबले पनि यो सहर अग्रस्थानमै छ । व्यापारिक ‘हब’ को रूपमा विकसित हुँदै आएको इटहरी पछिल्लो समय फेरि केही होटल व्यवसायीहरूको विकृति धन्दाले बदनाम बन्ला कि भन्ने चिन्ता सुरु भएको छ । छिट्टै पैसा कमाउने लोभमा अहिले पनि यौनधन्दा हुँदै आएको केही घटनाले प्रमाणित गरिदिएको छ ।

अहिले पनि ‘कलगर्ल’ को कारण पुनः बदनाम हुन थालेको पाइन्छ । पहिला क्याविनमा बस्ने यौनकर्मी महिलाहरू अहिले कलगर्लको रूपमा इटहरीका होटलहरूमा भेटिन थालेका छन् । होटलमा यौनधन्दा गराएको भन्दै इटहरीमा भर्खरै दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । होटलमा युवती राखेर यौनधन्दा गराउनेलाई प्रहरीले पक्राउ गरेसँगै इटहरीमा यौनधन्दा अझै लुकिछिपी हुँदैछ भन्ने प्रमाणित भएको छ ।

केही वर्षअगाडि डिएसपी विनोद शर्माले यौन कार्यमा युवतीहरूलाई बाध्यकारी बनाउने होटल सञ्चालक, यौनधन्दामा संलग्न युवतीहरूलाई मुद्दा चलाएपछि केही हदसम्म रोकिएको यौनधन्दा फेरि विस्तारै बढ्न थालेको छ । दलालहरूले युवतीहरूलाई ग्राहक हेरी हेरी मूल्य राखेर यौनकार्यका लागि युवतीको शरीर मोलमोलाइमा बिक्री गरिरहेका छन् । जसका कारण इटहरी सहरको बदनाम भइरहेको छ । चौरास्त सहर इटहरीलाई यौनधन्दामुक्त गराउनसके मात्र इटहरी देशभर चम्किने पक्का छ ।

होटलहरूको सम्पर्कमा बस्ने युवतीहरू प्रायः इटहरीबाहिरका रहेको प्रहरीले बताउने गरेको छ ।  कोठा भाडामा लिएर बस्ने युवतीहरूलाई होटलवालाहरूले ग्राहकसँग पठाउने गरेका छन् । युवतीको शरीर मोलमोलाइ गरी बिक्री गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुको विकल्प छैन । उनीहरूलाई सार्वजनिक मुद्दामात्र लगाएर सधैँ छोडिरहने हो भने उनीहरू पुनः त्यही अवैध व्यवसायमा आएर समग्र इटहरीको बदनाम गर्ने पक्का छ । त्यसैले यस्ता धन्दा चलाउनेहरूलाई कडाभन्दा कडा कारबाही गर्नु पनि आज फेरि आवश्यक भएको छ । 

छोटो समयमा धेरै पैसा कमाउन पल्केका यौनधन्दा चलाउनेहरूलाई सामाजिक बहिष्कार किन नगर्ने ? बजारमा भइरहेको यौनधन्दा रोक्न व्यवसायीहरूले पनि उत्तिकै भूमिका निभाउनु पर्ने देखिन्छ । इटहरीको पर्यटन क्षेत्रको विकास गर्न इटहरी क्षेत्रमा भइरहेको यौनधन्दाको अन्त्य हुनु जरुरी छ । राम्रा व्यवसायीलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने हैसियत व्यवसायी सङ्घमा बस्ने नेतृत्वले लिँदै यस्ता अवैध काम गर्नेहरूलाई व्यवसायी सङ्घबाटै बहिष्कारसम्मको अभियान चलाउन लाग्नु आजको आवश्यकता हो ।

अवैध धन्दा गर्नेलाई कडा कारबाही गर्ने र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने अभियानमा प्रहरी लाग्नु पर्छ । होटललाई सिस्टममा लैजाने अभियान चलाउनु प्रहरीको दायित्व हो । अहिले इटहरीको पश्चिम लाइन आसपासमा साँझ पर्ने बित्तिकै तेस्रो लिङ्गीहरूले खुलेआम यौनधन्दा चलाइरहेका छन् ।

सडक आसपासमा मेकअप गरेर सडकको आसपासमा नक्कल गर्दै हिँड्ने यौनकर्मीहरूले इटहरीको सुन्दरतालाई अहिले पनि गिज्याइरहेका छन् । यसरी तेस्रो लिङ्गीहरूको यौनधन्दाको बिगबिगीले इटहरीलाई बदनाम गरिरहेको छ । तर, यो विषयमा इटहरीका अगुवाहरू समेत मौन रहँदै आएका छन् ।

सडक आसपासमा यौनकर्मी तेस्रो लिङ्गीहरूले खुलेआम यौनधन्दा चलाइरहँदा पनि किन देख्दैन प्रहरीले । सडककै छेउमा बसेर सडकमा हिँड्ने युवाहरूलाई यौनकर्मीहरूले यौनको प्रस्ताव गर्ने गरेका छन् । तर, यसरी सडकमा खुलेआम यौनधन्दा चलाउने तेस्रो लिङ्गीहरूलाई प्रहरीले पक्राउ गर्नसकेको छैन ।

ट्रकदेखि सडकको आसपास नै हुने खुलेआम यौनधन्दा कसले रोक्ला सरकार ? यो धन्दालाई रोक्न प्रहरीले मात्र पनि सक्ने अवस्था छैन । यसलाई रोक्न स्थानीय अगुवा नागरिक समाज र राजनीतिक दलहरूले पनि भूमिका खेल्नु पर्ला कि ?

नेपालमा यौन व्यापार वर्जित छ । तर, सबै प्रमुख सहरमा ‘सेक्स’ को किनबेच चलिरहेको छ । आठ वर्षअघि इटहरीको बसपार्कछेउमा रेष्टुरेन्टका नाममा ढुक्कले यौनधन्दा हुन्थ्यो तर, त्यो चाहिँ अहिले छैन । पहिलाका प्रहरीलाई अलिअलि दामपानी चढाएर खुसी पारेर हुने यौनधन्दा भने अहिले रोकिएको छ ।

पहिला विशेषगरी भारतीयहरू धेरै आउँथे र रमाउँथे । तर, बजारमा अहिले त्यस्तो धन्दा नभए पनि लुकिछिपी यौनधन्दा भने रोकिएको छैन । कलगर्लको प्रयोग इटहरीमा पनि बढ्दो छ भन्दा फरक पर्दैन । त्यसैले प्रहरीले छापा मार्ने मुख्य साना होटलहरू मात्र छन् । सानालाई मात्र कहिलेकाहीँ तर्साएर देहव्यापार रोक्न सकिएलाजस्तो मलाई चाहिँ  लाग्दैन ।