विराटनगर: धनकुटाको पाख्रीवास नगरपालिका – ४ घर भई मोरङ बुढीगंगा गाउँपालिका –६ बस्ने २६ वर्षिय रिजन दाहालको हत्याको मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । 

घटना भएको २२ दिनपछि रिजनको हत्या आरोपमा बुढिगंगा गाउँपालिका –६ डल्लेपुल बस्ने २६ वर्षिय धन बहादुर तमाङलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङ घटनाको मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ । रिजनको हत्या गरेपछि उनी भारततीर फरार भएका थिए ।

लामो समयसम्म फरार रहेका तामाङलाई प्रहरीले भारतदेखि पक्राउ गरेर शनिबार राती मोरङ प्रहरीले ल्याएको हो । तामाङलाई पक्राउ गर्न मोरङ प्रहरीको डिएसपीको नेतृत्वमा टोली भारततिर गएको थियो । भारतीय प्रहरीसँग समन्वय गरेर उनलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य पाँच जना यसअघि पक्राउ परिसकेका छन् । पक्राउ परेका तामाङलाई आइतबार ‘कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

रिजनको हत्या आरोपमा प्रहरीले यसअघि सुनसरी ईटहरी उपमहानगरपालिका ११ भागलपुर बस्ने बर्ष २२ को राजु तमाङ, मोरङ सुन्दरहरैचा नगरपालिका ७ का २१ वर्षिय  बिक्रम खड्का, बुढीगंगा गाउँपालिका ६ का २४ वर्षिय ईश्वर लिम्बु, सोही ठाउँका  १८ वर्षिय सुदिप उराउ र २० वर्षिय सुदिप उराउँलाई पक्राउ गरि कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए । 


झापड हानेको रिस फर्न यसरी गरेको थियो हत्या 

कार्तिक २८ गते राती ९ बजे बुढीगंगा गाउँपालिका ७ मा झापड हानेको रिस फेर्ने क्रममा युवाहरू बिच ग्याङ फाइट हुदा रिजन दाहालको हत्या भएको प्रहरीको अनुसन्धानदेखि खुलेको छ । 

बूढीगङ्गा–६ का नानु लिम्बूको भतिजीको जन्मदिन मनाउन रिजन गत २८ कार्तिक राति उनको घर गएका थिए । जन्मदिनको पार्टीका क्रममा दुई युवा समूहबीच विवाद भएको थियो । बूढीगङ्गा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङलगायत ६–७ जनाको समूहसँग दाहालको विवाद भयो । विवाद बढ्दै गएपछि जन्मदिन मनाएको घरमा झगडा नगर भन्दै त्यहाँबाट रिजनलाई धनेको समूहले लिएर गएको थियो ।

नानुको घरदेखि हिँडेका रिजनलाई बूढीगङ्गा–६ का डम्बरबहादुर लिम्बूको बारीमा लगेर आक्रमण गरेका थिए । उनीमाथि धनबहादुरसहित ७ जनाको समूहले खुकुरी प्रहार गरेको प्रहरीको अनुसन्धानदेखि खुलेको छ । टाउँकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । झगडा छुट्याउन गएका रिजनका साथी नानु लिम्बू र कमल थापा पनि घाइते भएका थिए । रिजनले पनि धनेको समूहलाई चक्की प्रहार गुरेर  २/३ जनालाई घाइते बनाएका थिए । 

रिजनको हत्या हुनुभन्दा एक दिन अगाडी धनबहादुरसँग झगडा भएको थियो । सामान्य झगडा हुँदा रिजनले धनबहादुरलाई एक झापड गालामा हानेका थिए । त्यही झापड हानेको रिस फेर्न धनबहादुर जन्मदिनको पार्टीमा गई विवाद झिकेका थिए । तेही झापड हानेको रिस फेर्दा ग्याङ फाइट भएको थियो । ग्याङ फाइटमा परी रिजनको हत्या भएको प्रहरीले जनाएको छ ।