नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी  दर्ता गराएका छन् । आइतबार  अबेर रातसम्म गरिएको सहमतिको प्रयास असफल भएपछि निर्वाचन प्रकिया सुरु भएलगत्तै आज बिहान दुबैजनाले उमेदवारी मनोनयन दर्ता गराएका हुन् । 

ओलीलाई विष्णु प्रसाद पौडेलल प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् । यसअघि अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।

आइतबार अध्यक्ष ओलीले ३०१ सदस्यीय केन्द्रीय सदस्य र २९ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गरेका थिए । जसमा  रावल, घनश्याम भुसाल र भीम आचार्य समेटिएको थिएन । भुसाल र आचार्यले पनि क्रमशः उपाध्यक्ष र सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । 

एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार बिहान साढे १० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने बिहान पौन ११ भित्र उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । बिहान १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुने कार्यतालिका छ ।

बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ भने १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आज साँझ ९ बजेदेखि मतदान सुरु हुने कार्यतालिका तय भएको छ । मतदानको समय मंगलबार बिहान ३ बजेसम्म तय भएको छ ।