विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–४ हात्तीमुढाका एक बालकको रहस्यमय मृत्यु घटनाको अनुसन्धान गरी सत्य–तथ्य सार्वजनिक गर्न माग राख्दै निरन्तर प्रदर्शन गरेका छन् । १४ वर्षीय निश्चल रायको रहस्यमय तरिकाले मृत्यु भएको घटनामा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगरेको भन्दै बूढीगङ्गाका स्थानीयले शनिबार पनि प्रदर्शन गरेका हुन् ।

उनीहरूले विराटनगरको संसारी माईस्थानदेखि निकालेको र्यालीले नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय मोरङअगाडि घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही र सत्य–तथ्य सार्वजनिक गर्न माग राख्दै प्रदर्शन गरे । उनीहरूले हत्यारालाई कारबाही गर, घटनाको सत्य–तथ्य सार्वजनिक गर, पोष्टमार्टम रिपोर्ट सार्वजनिक गरलगायत उल्लेखित प्ले–कार्डसहित प्रदर्शन गरेका थिए ।

कात्तिक २२ गते घरनजिकै खेलिरहेको बेला अचानक हराएका १४ वर्षे बालक निश्चलको २४ गते बिहान सिङ्घीया खोलामा शव फेला परेको थियो । हराएपछि पटक–पटक त्यस ठाउँमा खोजी गरिएको भए पनि फेला नपरेका बालक निश्चलको शव २४ गते बिहान पानीमा बग्दै गरेको अवस्थामा भेटिएको थियो ।

हराएकै दिन साँझसम्म बालक फेला नपरेपछि प्रहरीलाई खबर गरिएको भए पनि प्रहरीले खोजीका लागि आवश्यक गम्भीरता नदेखाएका कारण अपहरणमा परेका बालकको हत्या भएको आशङ्का परिवारले व्यक्त गर्दै आएका छन् ।

बालकको हत्या भएको १५ दिन बितिसक्दा पनि प्रहरी हत्याराको नजिक पुग्न नसक्नु र घटनाको यथार्थ पत्ता लगाउन असफल भएपछि स्थानीयवासी आक्रोसित बनेका छन् । उनीहरूले छिटोभन्दा छिटो बालक मृत्युको कारण पत्ता लगाउन र अभियुक्तहरूलाई पक्राउ गर्न दबाव दिन थालेका छन् ।

nischal

त्यसै क्रममा स्थानीय सङ्घर्ष समितिले यसअघि बिहीबार नेमुवामा प्रदर्शन गरी इलाका प्रहरी कार्यालय नेमुवाअगाडि राजमार्गमा चक्काजाम पनि गरेका थिए । उनीहरूले घटनाबारे छानबिन गर्न प्रहरी गम्भीर नबन्दा अभियुक्तहरू उम्कने र प्रमाण नष्ट हुने सम्भावना बढेको भन्दै पाँच दिनभित्र हत्याको सम्पूर्ण विवरण सार्वजनिक नभए थप दबावमूलक सङ्घर्ष अघि बढाउने चेतावनी दिएका छन् ।

बालक हत्या भएको दुई साता बितिसक्दासम्म घटनाको अनुसन्धान गर्दै आएको प्रहरीले पोष्टमार्टम र भिसेरालगायत अन्य कुनै पनि रिपोर्टहरू सार्वजनिक गरेको छैन । त्यसले पीडितहरूलाई कतै अनुसन्धान प्रभावित भएको त हैन भन्ने आशङ्का बढाइदिएको उनीहरूको गुनासो छ ।

प्रहरीले भने भिसेरा रिपोर्ट आउनासाथ पोष्टमार्टमको रिपोर्ट पनि प्राप्त हुने र त्यसबाट मृत्युको कारण स्पष्ट हुने भन्दै रिपोर्ट पर्खेर बसेको जनाएको छ । पीडित परिवारले भने रिपोर्ट पर्खंदापर्खंदै सबै प्रमाण नष्ट भई हत्यालाई सामान्य मृत्युमा परिणत गर्ने खेल भइरहेको आशङ्का गरेको छ ।

हत्यामा संलग्न हुनसक्ने व्यक्तिहरूको बारेमा प्रहरी जानकार भए पनि उनीहरूमाथि अनुसन्धान केन्द्रित नभएको भन्दै पीडित परिवारले सबै पक्षसँग दबावका लागि सहयोगको आह्वान गरेको छ ।