इटहरीमा चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका ११ घर भई इटहरी उपमहानगरपालिका ५ जनता बस्तीमा डेरा गरी बस्दै आएका २४ वर्षीय समिर परियार र इटहरी ३ तालतलैयाका १९ वर्षीय राजेश खडका रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयका अनुसार इटहरी ५ का राजेन्द्र प्रसाद ढुङ्गानाको आफ्नै घरमा पार्किङ गरी राखेको  बा ९४ प ९९२६ नम्बरको मोटरसाइकल हराएको भन्ने सूचनाको आधारमा खोजी गर्ने क्रममा  विराटनगर महानगरपालिका १५ भन्सार कार्यालयको १ नम्बर ढाट नटीकैबाट इलाका प्रहरी कार्यालय रानीले मोटरसाइकलसहित परियारलाई पक्राउ गरेको थियो ।

मोटरसाइकल सहित पक्राउ गरिएका परियारमाथि प्रारम्भिक अनुसन्धान गर्दा खडका चोरी कार्यमा संलग्न भएको खुल्न आएको कार्यालयले जनाउको छ ।  पक्राउ गरिएका दुबै जना उपर मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जिल्ला अदालत सुनसरीबाट चोरी मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।