विराटनगर । गुण्डा नाइके अभिषेक गिरीलाई फेरि विराटनगर कारागार सरुवा गर्ने निर्णय कार्यान्वयन गराउने उद्देश्यले चौकीदार कात्तिक कामतसहित ८ जना कैदीबन्दीको सरुवा गरेको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा अपराधी ठहर भएर कैद सजाय भुक्तान गरिरहेका गिरीलाई मोरङ कारागार ल्याउनको लागि कारागार व्यवस्थापन विभागले बुधबार आठ जनालाई सिन्धुली कारागार सरुवा गरेको हो ।

सरुवा हुनेहरूमा चौकीदार कामत, सिटी कमाण्डर युवराज परियार, वडा नाइके रितेश कामत, आन्तरिक प्रशासनका विकास महतो, विवेक कामत, शिवनारायण माझी र मौसम चौधरी कैदीको सरुवा गरिएको छ ।

८ जना कैदीबन्दीको सरुवाको पत्र आएको आफूले पनि जानकारी पाएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । ‘कारागार विभागले सरुवा गरेको पत्र आएको मैले पनि जानकारी पाएको छु,’ उनले भने, ‘क्षमताभन्दा बढी कैदीबन्दी भएको कारणले सरुवा गरेको हो ।’

सरुवा हुनेमध्ये कात्तिक ज्यान मार्ने उद्योग, युवराज र रितेश कर्तव्य ज्यान, मौसम लागूऔषध, विजय, लोकेन्द्र र देवराज जबरजस्ती करणी तथा विकास हातहतियार खरखजाना मुद्दामा दोषी ठहर भएका कैदी हुन् । नेपाली काङ्ग्रेसमा आबद्ध भएर राजनैतिक संरक्षण एवम् आवरणमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएका ‘गुण्डानाइके’ गिरीलाई सरकारले बारम्बार मोरङ कारागार ल्याउने प्रयास गरिरहेको छ ।

तर, कैन्दीबन्दी तथा उनीहरूका आफन्तको अवरोध, विरोध र आन्दोलनका कारण उनले सहज रूपमा मोरङ कारागार प्रवेश पाउन सकिरहेका छैनन् । गिरीलाई मोरङबाट २०७४ साल चैत २३ गते डिल्ली बजार कारागार स्थानान्तरण गरिएको थियो । मोरङमा हुँदा उनी कारागारका चौकीदार थिए । चौकीदार रहँदा कारागारभित्र भिन्दै साम्राज्य खडा गरेर गुण्डागर्दी, असुली र फिरौतीको धन्दा चलाउँदै यातना दिएर कैदीबन्दीमाथि चरम शोषण गरिरहेको विषय बाहिरिएपछि उनलाई मोरङबाट डिल्लीबजार सरुवा गरिएको थियो ।

तर, काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै उनलाई पुनः मोरङ ल्याउन काङ्ग्रेस नेताहरूले ‘लबिङ’ सुरु गरेका थिए । काङ्ग्रेस नेताको दबाव र गृहमन्त्री बालकृष्ण खाणको ठाडो निर्देशनमा भदौ १७ गते डिल्लीबजारबाट गिरीको सरुवा मोरङ भएको थियो । चौतर्फी विरोध हुँदाहुँदै पुनः चौकीदार बनाएर ल्याउनकै लागि विगतको अभ्यासविपरीत उनलाई मोरङ सरुवा गरिएको हो ।

सरकारको यो निर्णयको चौतर्फी आलोचना र विरोध भइरहेको छ । मोरङ ल्याउँदा ठूलो सङ्ख्यामा रहेका कैदीबन्दी असुरक्षित हुने भन्दै गिरीविरुद्ध आन्दोलन उठेपछि उनलाई तत्काल मोरङ ल्याइएन । तर, मोरङबाट चौकीदार नवीन राईलाई गत असोज १८ गते झुम्का कारागार स्थानान्तरण गरेर किरण गुरुङलाई कामचलाउ चौकीदारको जिम्मेवारी दिँदै गिरीका लागि ठाउँ खाली गरिसकिएको थियो ।

त्यसपछि डिल्लीबजारबाट उनलाई ‘सुटुक्क’ कात्तिक १६ गते मोरङ ल्याइयो । कैदीबन्दी र उनीहरूका आफन्तले विरोध प्रदर्शन गर्न थालेपछि उनलाई सप्तरी कारागार लगियो । गिरीकै योजना र इसारामा कात्तिक २४ गते मोरङ कारागारमा झडप हुँदा चौकीदार किरण गुरुङसहित ६ जना कैदीबन्दी घाइते भए । घटनापछि उनको विपक्षमा रहेका गुरुङसहित १४ जना नाइके तथा भाइनाइके कैदीबन्दीलाई झुम्का, झापा र इलाम कारागारमा स्थानान्तरण गरेर कात्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिइयो ।

कारागार व्यवस्थापन विभागले गत शुक्रबार पुनः सप्तरीबाट गिरीलाई मोरङ सरुवा ग¥यो । तर, विरोध भएपछि उनलाई ल्याइएको छैन । चौकीदार कामत पहिले ‘गुण्डानाइके’ गिरीकै पक्षमा थिए । अहिले उनीसहित मोरङ कारागारका अधिकांश कैदीबन्दी गिरीको विपक्षमा उभिएका छन् । कारागारभित्रका नौ सय कैदीबन्दीले गिरीलाई मोरङ ल्याउन नहुने मागसहित जिल्ला प्रशासन कार्यालय र कारागार व्यवस्थापन विभागमा निवेदन नै दिएका छन् ।

विपक्षमा उभिएर गिरीलाई मोरङ प्रवेश गर्न नदिने अडानमा रहेका चौकीदार कामतसहित आठ जनाको सरुवा भएपछि अहिले मोरङ कारागारमा हङ्गामा मच्चिएको छ ।

डेढ महिनामा तीन जना चौकीदार परिवर्तन भएका छन् । ‘गुण्डानाइके’ गिरीले सप्तरीमा बसेर पनि मोरङमा आतङ्क मच्चाइरहेका छन् । कारागारभित्रको झडपमा गिरीका विरोधीहरू घाइते हुनु र त्यसपछि स्थानान्तरणमा पर्नुले त्यसको पुष्टि गर्छ । काङ्ग्रेस नेतासँगको निकटताका कारण दबाव सिर्जना गरेर सरकारलाई प्रभावमा पार्दै आफ्नो विरोधमा रहेका कैदीबन्दीको अन्यत्र सरुवा गराउन उनी सफल भइरहेको मोरङ कारागार स्रोतले बतायो ।

सरुवाको कैदीबन्दीबाट विरोध
चौकीदारसहित आठ कैदीबन्दीको सरुवा भएकोे निर्णयको कैदीबन्दीहरूले विरोध गरेका छन् । सरुवा पत्र बुधबार पाएपछि उनीहरूले आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । गिरीविरुद्ध जस्तोसुकै कदम चाल्न पछि नपर्ने चेतावनी दिएका छन् । कैदीबन्दीले सरुवा भएकाहरूलाई स्थानान्तरण गर्न खोजिएमा असहयोग गर्ने बताएका छन् ।

‘आठ जनाको मात्रै स्थानान्तरण हामीलाई मान्य छैन । गिरीलाई मोरङ ल्याउने हो भने नौ सय जनालाई नै एकैपटक सरुवा गर्नुपर्छ’ एक कैदी भन्छन्, ‘कुनै लफडा भएर कैदीबन्दीको ज्यान तलमाथि भएमा सबै जिम्मा सरकारले लिनुपर्छ । तत्काल आठ जनाको सरुवा फिर्ता नगरिए आन्दोलन गर्छौं ।’

उनका अनुसार गिरी मोरङ आउँदा कैदीबन्दीहरूको ज्यान नै जोखिममा हुन्छ । सबैको ज्यान जोखिममा पार्दै गिरीलाई ल्याउन खोजेर शान्त बन्दै गएको कारागारको अवस्था धमिल्याउन सरकार लागिपरेको गुनासो कैदीबन्दीको छ । २ सय ५० जना क्षमता भएको मोरङ कारागारमा अहिले ९ सय ५० जनभन्दा बढी कैदीबन्दी राखिएको छ ।