धरान । डाँका मुद्दामा ६ वर्ष कैद सजाय पाई फरार रहेका सुनसरी इनरुवाका एक अभियुक्तले सजायबाट बच्नका लागि मृत्यु दर्ता प्रमाण पत्र बनाएको प्रहरीले प्रमाण फेला पारेको छ ।

सुनसरी इनरुवा नगरपालिका–७ (साविक चाँदबेला गाविस–१) का अजित मियाँले स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट मृत्यु दर्ता प्रमाण–पत्र बनाएको प्रहरीले प्रमाण फेला पारेको हो । २०६८ सालमा उनीसहित तीन जनाको समूह डकैत गरी फरार रहेको थियो ।

सुनसरी जिल्ला अदालतले उनको नाममा २०७५ असार ११ गते ६ वर्ष कैद र ९९ हजार रुपैयाँ जरिबाना तोकेको थियो । यसबीचमा स्थानीय पञ्जिकाधिकारीबाट मृत्यु दर्ताको प्रमाण–पत्र बनाइसकेकाले पक्राउ गर्न प्रहरीलाई हम्मे परेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तीनैजनालाई जनही ६ वर्ष कैद र ९९ हजार रुपैयाँ जरिबाना गर्ने गरी फैसला गरेको थियो । तर, तीनैजना फरार रहेका थिए । मियाँ सोमबार अपरान्ह पक्राउ परेका हुन् । उनको समूहले रामधुनी नगरपालिका–५ का जैयसकुमार साहको घरमा डकैत गरेको थियो । साहले उनीहरू विरुद्ध उजुरी दिएपश्चात् अदालतले फैसला सुनाएको थियो ।

उक्त घटनाबाट आफूलाई सुरक्षित राख्नका लागि उनले २०७४ पुस २७ गते मृत्यु दर्ताको प्रमाण–पत्र बनाएका थिए । प्रहरीले उनलाई पटक–पटक पक्राउ गर्ने प्रयास गरेको थियो तर, अजितको मृत्यु भइसकेको र आफू अजितको भाइ अजिज भनी चिनाउँदै आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी नरेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘उसको पनि नाम मिल्छ, बुबाको पनि नाम मिल्छ, अनि बनेको छ, मृत्यु दर्ता प्रमाण–पत्र’ डिएसपी कार्कीले भने, ‘यो बनाएपछि जोगिइहालिन्छ भन्ने हो, पहिलादेखि नै खेदिरहेका थियौं । घरका मान्छेहरूले त्यो मरिसक्यो । मरिसकेको भनेपछि आधार प्रमाण खोज्दा यस्तो भेटियो ।’ घटनाका अर्का अभियुक्त लुचाई शर्मा खत्वेले नै उनी अजित भएको सनाखत गरेपछि प्रहरीले सहज रूपमा उनलाई पक्राउ गरेको हो ।

एकै दिन ४२ जना फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय सुनसरीले एकै दिन ४२ जना फरार प्रतिवादी पक्राउ गरेको छ । कार्यालयले मङ्गलबार ४२ जना फरार प्रतिवादी पक्राउ गरेको हो । कार्यालयले विभिन्न समयमा विभिन्न मुद्दामा कैद तथा जरिबाना फैसला भए तापनि फरार रहँदै आएका प्रतिवादीहरूलाई पक्राउ  गरेको हो । फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत पक्राउ गरेको कार्यालयले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गरी ४ महिनाको अवधिमा ५ सय ६५ जना फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिएका छन् । उनले ७७ वटै जिल्लामा सबैभन्दा बढी फरार प्रतिवादी पक्राउ गरेको दाबी गरे । गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयले जम्मा १ सय ५२ जना मात्रै फरार प्रतिवादी पक्राउ गरेको बताए ।

अभियानको ४ महिनामा ५ सय ६५ जना पक्राउ गर्न सफल भएको उनले बताए । उनले दशैं, तिहारलगायतका चाडपर्वमा पनि सूक्ष्म अध्ययन गरिरहेकाले पक्राउ गर्न सफल भएको बताए । उनले भने, ‘चाडपर्वमा आफन्तसँग भेट्न आउने गर्दछन्, उक्त समयमा निगरानी गर्याैं ।’

४ महिनामा पक्राउ परेका ५ सय ६५ जना फरार प्रतिवादीबाट १ सय १९ वर्ष ८ महिना ८ दिन कैद र २६ लाख ७२ हजार ९ सय ६ रुपैयाँ जरिबाना असुल गरेको कार्यालयले जनाएको छ । प्रमुख एसपी थापाका अनुसार जिल्ला अदालत सुनसरीको लगतमा अझैै पनि ३० वर्षदेखिका करिब ४ हजार २ सय प्रतिवादी फरार रहेका छन् ।