सोलुखुम्बुमा बुबाले आफ्नै  छोराछोरीलाई एसिड प्रहार गरेका छन् । सोलु–दुधकुण्ड नगरपालिका ५ का ५० वर्षीय मोहन बराइलीले घरायसी विवादका कारण छोरा २५ वर्षीय सुरज र १५ वर्षीय छोरी माथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका अनुसार सुनचाँदी व्यवसायी मोहनले मादक पदार्थ सेवन गरी घरसंगै रहेको सुन पसलको विषयमा विवाद हुँदा उनीहरूमाथि पसलमा रहेको सुन सफा गर्ने एसिड प्रहार गरेका हुन् । बुबाले प्रहार गरेको एसिड छोरा सुरजको घाटी र दायाँ हातमा र छोरीको हात र खुट्टामा पोखिएपछि घाइते भएका  सुरजको जिल्ला अस्पताल फाप्लुमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौँस्थित वीर अस्पताल पठाइएको कार्यालयले जनाएको छ । 

अर्की घाइते छोरीको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ । आफ्नै छोराछोरीमाथि एसिड प्रहार उनलाई  घटनास्थलबाटै नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।