बिर्तामोड/ झापाको बिर्तामोडमा असोज २४ गते राति भएको मासु व्यवसायीको हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बिर्तामोड उत्तरको महानन्दचोकमा मासु व्यवसाय गर्ने इन्द्रकुमार मगरको हत्या ‘मैले गरेको’ भन्ने सोही स्थानका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले शुक्रबार राति ९ बजे सोही स्थानमा खसीको मासु बिक्री गर्ने टीकाराम थापा र उनको पसलमा कार्यरत धु्रव बुढाथोकीलाई पक्राउ गरेको हो । उनीहरूमध्ये थापाले मादक पदार्थ सेवन गरेको समयमा मगरको हत्या आफैले गरेको भनेको प्रहरीले जनाएको छ ।

‘माल्दाइ मासु पसल’ का सञ्चालक थापाले मगरको भाइ सन्तोष मगरलाई ‘तेरो दाइलाई मैले मारेको’ भनेपछि उनले प्रहरीलाई जानकारी गराएका थिए । इन्द्रका भाइ सन्तोषले भने, ‘तेरो दाइलाई मैले मारेको भनेर सार्वजनिक रूपमा भनेपछि मैले प्रहरीलाई खबर गरेको हुँ ।’

सन्तोषले जानकारी दिएपछि प्रहरीले थापा र बुढाथोकीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । थापाले ‘तेरो दाइको हत्या मैले गरेको हो’ भनेको समयमा मादक पदार्थ सेवन गरेका थिए । पक्राउ परेका थापाका छोरा भवेशले घटनाबारे आफू जानकार नभएको बताए । आफू शनिबार मात्रै घर आएको भन्दै उनले शुक्रबार राति भएको कुराकानीबारे जानकारी नभएको बताए ।

उनले भने, ‘मगर र उनका बुबाबीच मित्रवत् सम्बन्ध थियो । मगर उनको मासु पसलसँगै सञ्चालन गरिएको होटलमा आउजाउसमेत गर्थे ।’ बुबा र मगरबीच ख्यालठट्टा चल्ने गरेको छोरा भवेशले सुनाए ।

मगरको हत्या भएपछि थापा पनि हत्यारा पत्ता लगाउन दबाव दिने स्थानीयमध्येका एक हुन् । उनले हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने तथा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने आवाज उठाएका थिए । घाँटीमा र पाखुरामा धारिलो हतियार प्रहार भएको थियो । प्रहरीले हालसम्म घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको छैन ।

थापाको परिवारले भने थापाले मादक पदार्थ सेवन गरेर बेहोसी अवस्थामा मगरको हत्यारा पत्ता लगाउन एकजुट हुनुपर्ने भन्दै मृतकका भाइ सन्तोषलाई हौस्याएको दाबी गरेको छ । थापाकी श्रीमती लीलाले भनिन्, ‘उहाँले मगरको हत्या मैले गरेको हो भनेर भनेको होइन, उहाँहरूले मातेका मान्छेको बोली तोडमोड गर्नुभयो ।’ उनले प्रहरी अनुसन्धानमा आफ्ना श्रीमान् निर्दाेष सावित हुने समेत बताइन् ।