उर्लाबारी । नेपाली काँग्रेसका नेता तथा उर्लाबारी नगरपालिका नगर प्रमुख खड्ग फागोले मोरङ क्षेत्र नं। १ को क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषण गरेका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत मंसिर ६ गते हुने क्षेत्रीय अधिवेशनमा फागोले पुनः क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका हुन् ।

सशक्त उम्मेद्वारका रुपमा स्थापित फागोको उम्मेद्वारीले काँग्रेसजनमा उत्साह जगाएको छ । दुई कार्यकाल क्षेत्रीय सभापति हुँदा फागोले यस क्षेत्रमा काँग्रेसको एउटा छाप बसाउन सफल भएका छन् । उनकै नेतृत्वमा गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले मोरङ क्षेत्र नं। १ का चार मध्ये तीन पालिकाको नेतृत्व जित्न सफल भयो । उर्लाबारी, लेटाङ नगरपालिका र केराबारी गाउँपालिका प्रमुख काँग्रेसले जितेको छ ।

को हुन् फागो ?
उर्लाबारी नगरपालिकाका नगर प्रमुख समेत रहेका क्षेत्रीय सभापति फागो नेपाली काँग्रेसको वडा सहसचिव हुँदै २०४९ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् ।

तरुण दलको वडा सभापति, क्षेत्रीय सदस्य, क्षेत्रीय संयोजक, पार्टीको क्षेत्रीय कार्यसम्पादन सचिव हुँदै क्षेत्रीय सभापति भएका उनले राजनीति शास्त्रमा स्नातक (बीए) र ग्रामीण विकासमा स्नातकोत्तर  उपाधि हासिल गरेका छन् ।

सैद्धान्तिक र वैचारिक स्पष्ट अडान, कुशल, निडर, कार्यकर्ताको दुःखका सारथी फागो अग्रजहरुको क्षमता र अनुभवलाई आत्मसात गर्दै अघि बढेका युवा नेतृत्व हुन् । राष्ट्र र पार्टी सिद्धान्तप्रति युवालाई प्रोत्साहन गर्ने, युवाहरुलाई नेतृत्व दिलाउँदै जाने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका फागो विकासप्रेमी नेताको रुपमा परिचित छन् ।

स्थानीय तहमा हुने गरेको भ्रष्टाचार, अनियमितता रोक्न फागोले निर्वाह गरेको भूमिकाको सर्वत्र प्रसंसा हुने गरेको छ । पुनः क्षेत्रीय सभापतिमा उम्मेद्वार हुँदै गर्दा उनले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा आफ्ना उम्मेद्वारलाई जिताउन लागि पर्ने, क्षेत्रभित्र रहेका ३७ वटै वडामा नेपाली काँग्रेसको जित निकाली ३४ सयभन्दा बढी क्रियाशील सदस्यको शिर उच्च राख्ने गरी कार्य गर्ने उनको भनाई छ ।