पाँचथर । नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनमा जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा विद्यालयका प्रधानाध्यापक सभापति निर्वाचित भएका छन् ।
हिलिहाङ–४, पञ्चमीस्थित सिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक भगिश्वर योङहाङ प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । शनिबार राती आएको निर्वाचनको मत परिणाम अनुसार योङहाङ आफ्ना प्रतिस्पर्धी कुमार राई (प्रताप) लाई ३४ मतले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन् ।
विजयी बनेका योङहाङले २९६ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी राईले २६२ मत प्राप्त गरेका थिए । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा जम्मा ५८४ मतमध्ये ५७२ मत खसेको थियो । निर्वाचन क्षेत्र ‘क’ मा योङहाङको प्यानलै विजयी बनेको हो । क्षेत्रीय उपसभापतिमा भरत खपाङ्गी र सीताराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा यस सुन्दर आचार्य र सन्तोष मोक्तान त्यस्तै सहसचिवमा नरेन्द्र पन्धाक र सुन्दर थोक्लिहाङ विजयी बनेका छन् ।
त्यस्तै पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ मा भने पाँचथर काँग्रेसको इतिहासमै पहिलोपल्ट महिला नेतृत्वमा आएको छ । निर्वाचन क्षेत्र ‘ख’ मा मैया श्रेष्ठ (लावती) आफ्ना प्रतिस्पर्धी नगेन्द्र कुमार लामालाई ६४ मतले पछि पार्दै क्षेत्रीय सभापतिमा निर्वाचित भएकी हुन् । आइतबार बिहान भएको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले २७३ मत प्राप्त गर्दा लामाले २०९ मत प्राप्त गरेका थिए ।
क्षेत्रीय उपसभापतिमा जीत बहादुर भण्डारी र तेज बहादुर चेम्जोङ निर्वाचित भएका छन् । भण्डारी श्रेष्ठ प्यानल र चेम्जोङ लामा प्यानलका हुन् । सचिवमा भने भरत तुम्बापो र भक्त लावती निर्विरोध निर्वाचित भएका छन् । सहसचिवमा लामा प्यानलका नरेन्द्र शेर्मा र श्रेष्ठ प्यानलका ज्योति प्रभा भण्डारी निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र ‘ख’ मा ५०५ मतमध्ये ४९३ मत खसेको थियो ।
पाँचथरमा नेपाली काँग्रेसको जिल्ला नेतृत्वका लागि सुरेन्द्र कुमार दाहाल र रूपनारायण जबेगु प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा निर्वाचित योङहाङलाई जबेगुको साथ थियो भने प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ मा निर्वाचित श्रेष्ठलाई दाहालको साथ थियो । यसपल्टको पार्टी चुनावलाई नेपाली काँग्रेस पाँचथरको आन्तरिक जीवनमा सबैभन्दा कडा प्रतिस्पर्धाको रूपमा हेरिएको छ ।