विराटनगर ।   मोरङको कटहरी गाउँपालिका – ६ स्थित राजधानी इँटा उद्योगका सञ्चालक कलामसिंह लामामाथि खुकुरी प्रहार गरी घाइते बनाएको ज्यान मार्ने उद्योगको मुद्दा उच्च अदालतमा पुगेको छ । 

प्रतिवादीका आफन्तले जिल्लाको आदेश बदर गरी साधारण तारेखमा छोड्न माग राख्दै उच्च अदालतमा ७३ नम्बर गरेका छन् । प्रतिवादीको तर्फबाट कार्तिक २५ गते उच्च अदालतमा ७३ नम्बर गरेका हुन्  । सो मुद्दा अहिले बिचाराधिनमा रहेको छ । 

१० असोजमा उच्च अदालत विराटनगरको गेटमा इँटा उद्योगका सञ्चालक लामामाथि विराटनगरका २८ वर्षीय विमल कार्कीले खुकुरी प्रहार गरी घाइते बनाएका थिए । सो घटनामा कार्की सोही दिन पक्राउ परेका थिए ।

उनी पक्राउ परेपछि मोरङ प्रहरीको अनुसन्धानपछि राजधानी इँटा उद्योगका सञ्चालक धनपालथान गाउँपालिका १ का  ५० वर्षीय मो. साजिद मियाँ, रमेश राजवाहक, नेत्र भट्टराई, सुरेश विश्वकर्मा र अजय भन्ने महका सनहीलाई प्रतिवादी बनाएर ज्यान मार्ने उद्योगमा मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो ।

उक्त मुद्दामा खुकुरी प्रहार गर्ने कार्की र साझेदार व्यवसायी लामालाई खुकुरी प्रहार गर्न लगाएको आरोपमा प्रहरीले मियाँलाई पनि पक्राउ गरेको थियो । खुकुरी हान्ने र खुकुरी हन्न लगाएको भन्दै प्रहरीले तत्काल दुई जनालाई पक्राउ गरेको थियो भने अन्य चार प्रतिवादी फरार छन् । फरार भएका प्रतिवादीले अपराध गराउन भूमिका खेलेको प्रहरीको दाबी छ ।

प्रहरीले पक्राउ गरेको दुई जना र फरार भएका चार गरी ६ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले ४ कार्तिकमा मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा अभियोग दर्ता गरेको थियो । मोरङ अदालतको न्यायाधीश किशोर घिमिरेको इजालाले प्रतिवादी कार्की र मियाँ पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेका छन् । अदालतको आदेशपछि अहिले उनीहरू पुर्पक्षको लागि थुनामा छन् । 


घाइते कलाम सिंहले नै खुकुरी हान्न लगाएको आरोपीको बयान

ज्यान मार्ने उद्योग मुद्दाको मुख्य अभियुक्त खुकुरी प्रहार गर्ने विमल कार्कीले घाइते भएका राजधानी इँटा उद्योगका सञ्चालक कलामसिंह लामाले आफैले खुकुरी प्रहार गर्न लगाएको बयान दिएका छन् । 

अभियोग दर्ता भएपछि २२ कार्तिकमा मोरङ अदालतका न्यायाधीश किशोर घिमिरेको इजालाशमा प्रतिवादी कार्कीले आफू एक्लैले लामालाई खुकुरी प्रहार गरेको र उनको योजना अनुसार प्रहार गरेको बयान गरेको पत्र फेला परेको हो ।

इजालासमा सवाल जवाफको क्रममा ‘तपाइले घाइते कलाम सिंह लामालाई ज्यान मार्ने नियतले खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योगको कार्य गरेको हो, होइन ? खुलाइ दिनुहोस् । भनेर सोधिएको ६ नं. सवाल प्रश्नमा प्रतिवादी कार्कीले भनेका छन्, ‘मैले कलामसिंह लामालाई एकचोटी खुकुरी प्रहार गरेको हो ।

मलाई खुकुरी प्रहार गर्न निजले नै लगाएका हुन् । म एक्लैले निजलाई खुकुरी प्रहार गरेको हो ।’ खुकुरी हान्न लगाएको भनिएका मोहमद साजिद मियाँलाई आफूले नचिन्ने पनि कार्कीले बयानको क्रममा बताएका छन् । 

घाइते लामा र प्रतिवादी बनाएको मियाँ राजधानी इँटा उद्योगका साझेदार हुन् । उनीहरूको उद्योगको सेयर विवादको विषयमा झगडा हुने गरेको थियो ।