धरान/नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ को प्रदेशसभा (क) र (ख) को शनिबार सम्पन्न निर्वाचनमा संस्थापन ‘क्लिन स्विप’ भएको छ । 

प्रदेशसभा (क) र (ख) मा कोइराला–पौडेल पक्षधर मानिएका अनिल श्रेष्ठ र मुरारी भट्टराईको प्यानलै विजयी बनेको छ । संस्थापन पक्ष देउवाबाट उम्मेदवार बनेका मदन ढकाल र अजयकुमार राई पराजित भए । धरान क्षेत्र पर्ने सुनसरी क्षेत्र नम्बर १ उसै पनि देउवा पक्ष कमजोर रहँदै आएको थियो । प्रदेशसभा (क) को धरान–८ स्थित सभागृहमा सम्पन्न निर्वाचनपश्चात् सोही स्थानमै मतगणना गरिएको थियो । मतगणनामा कोइराला–पौडेलका अनिल श्रेष्ठले भारी मतान्तरले ढकाललाई पराजित गरे । ढकालले ९६ मत प्राप्त गर्दा श्रेष्ठले २६८ मत प्राप्त गरे । 

उपसभापतिमा प्रदीप शाक्य र झुमा राईले क्रमशः २३७ र २८१ मत ल्याउँदै निर्वाचित बनेका छन् भने सचिवमा युवराज शङ्कर र राजेन्दै राईले क्रमशः २८० र २४४ मत ल्याउँदै विजयी बने । त्यस्तै सहसचिवमा हरिप्रसाद ओझा र रमिता श्रेष्ठले क्रमशः २१८ र २५६ मत प्राप्त गर्दै विजयी बनेका छन् । देउवा प्यानलबाट उम्मेदवारी दिएका उपसभापतिले कुमार मोक्तानले ९० र मनोजकुमार सुब्बाले ९७ मत मात्रै प्राप्त गरे भने सचिवमा राजेन्द्रकुमार राईले ९९ र सुनिलचन्द्र श्रेष्ठले ९१ म्त प्राप्त गरे । सहसचिवमा कमल भट्टराईले १०० र विष्णुमाया मोक्तानले ११२ मत प्राप्त गरे । विधानअनुसार कोषाध्यक्ष पदमा भने मनोनित गर्ने व्यवस्था छ । प्रदेशसभा (क) मा ३७६ प्रतिनिधि रहेकामा ३६७ जनाले मात्रै मत हालेका थिए । यता महाधिवेशन प्रतिनिधिमा पनि कोइराला–पौडेल प्यानलबाटै विजयी बनेको छ । 

यता प्रदेशसभा (ख) मा पनि भट्टराईको प्यानलै विजयी बनेको हो । धरान–१७ स्थित एन्फा एकेडेमीको हलमा सम्पन्न निर्वाचनपश्चात् मतगणनामा भट्टराईले कुल २५१ मत खसेकामा १३९ मत प्राप्त गरे । प्रत्यासी राईले १०८ मत प्राप्त गरेका थिए । त्यस्तै उपसभापतिमा चन्द्रबहादुर मगर अनिलले १५५ र डिल्लीसेर राईले १३० मत प्राप्त गर्दै निर्वाचित बने । यता संस्थापनतर्फका अमृतबहादुर खड्काले ८२ र सन्देश श्रेष्ठले ९२ मत ल्याएका थिए । त्यस्तै सचिव पदमा राजेन्द्र खड्काले १४४ र विजय घिमिरेले १४३ मत प्राप्त गर्दै निर्वाचित बन्दा प्रत्यासी संगीता राईले १२० र सुरजप्रसाद अधिकारीले ६३ मत मात्रै प्राप्त गरेका थिए । 

त्यस्तै सहसचिव पदमा मञ्जु राईले १४४ र रोहित काफ्लेले १५१ मत प्राप्त गरेका थिए । उनका प्रतिद्धन्द्धी विक्रम राईले ८५ र सर्वम धामीले ८१ म्त मात्रै प्राप्त गर्दै पराजित भए । त्यस्तै सदस्यहरूमा पनि भट्टराई प्यानल विजयी बनेको छ । प्रदेशसभा (ख) मा २५३ प्रतिनिधिले मत हाल्नु पर्ने भए पनि २५१ मत मात्रै खसेको थियो । यता महाधिवेशन प्रतिनिधिमा पनि कोइराला–पौडेल पक्षबाटै विजयी बनेका छन् । यसअघि नगरको अधिवेशनमा पनि संस्थापन पक्ष ‘क्लिन स्विप’ भएको थियो । यस निर्वाचन परिणामअनुसार एकाएक देउवा क्याम्पमा प्रवेश गरेका धरानका नगर प्रमुख तथा पूर्व सभापति तिलक राई क्षेत्र नम्बर १ को सभापतिमा जित्ने सम्भावना क्षीण बनेको छ । कोइराला–पौडेल पक्षधर मानिएका उनी एकाएक देउवा क्याम्पमा देखिएका छन् । 

यता धनकुटामा सम्पन्न निर्वाचनबाट प्रदेशसभा खतर्फ राजन पौडेल निर्वाचित बनेका छन् भने कतर्फको निर्वाचन हुन सकेको छैन । पौडेलले २३३ मत प्राप्त गर्दै प्रत्यासी तिलक महतलाई हराएका छन् । महतले १७६ मत मात्रै प्राप्त गरे । कुल ४३५ मत खसेको थियो । समितिको सचिवमा दिलराज घिसिङ र गोपाल राई विजयी बने । सहसचिवमा विश्वास पुलामी र मणिराज राई विजयी बनेका छन् । यता उपसभापतिमा चन्द्रकुमार लिम्बू र भीमबहादुर खड्का निर्विरोध निर्वाचित भएका थिए । कतर्फ आज (आइतबार) निर्वाचन हुने जनाइएको छ ।