धरान । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ को प्रदेशसभा क र खतर्फ संस्थापन इतर पक्ष हाबी हुने सम्भावना बढेको छ । 

शनिबार सम्पन्न निर्वाचनपश्चात्को जारी मत परिणामअनुसार इतर पक्ष हाबी देखिएको हो । संस्थापन पक्ष मानिएका प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधरबाट प्रदेशसभा क मा मदन ढकाल र ख मा अजयकुमार राई समूहलाई कोइराला पौडेल समूहले केही मतमा नेतृत्व गरिरहेको छ । कोइराला पौडल समूहबाट क मा अनिल श्रेष्ठ र ख मा मुरारी भट्टराईको समूह चुनावी प्रतिस्पर्धामा रहेका थिए । 

क का प्रतिस्पर्धी अनिल श्रेष्ठले झण्डै ५० मतान्तरले अगाडि छन् भने ख का प्रतिस्पर्धी मुरारी भट्टराईले १३ मतले अगाडि रहेको मतगणना स्थलमा रहेका कांग्रेस कार्यकर्ताले जानकारी दिए । कको धरान ८ स्थित सभागृहमा मतदान भएको थियो भने सोही ठाउँमा नै गणना भइरहेको छ । क मा ३७६ मतदातामध्ये ३६७ प्रतिनिधिले मत हालेका छन् । ९ मत खसेन । 

congress_dharan (2)

त्यस्तै ख मा २५३ मतदातामध्ये २५१ जनाले मात्रै मत हालेका थिए । दुईजनाले मत हालेनन् । अबको एक घण्टाभित्र प्रदेशसभा खको मतमरिणाम आइसक्ने जनाइएको छ भने करिब साढे ८ बजेभित्र कतर्फको पनि मतपरिणाम आइसक्ने जनाइएको छ । सुनसरीको धरानमा देउवा पक्ष केही कमजोर रहेको छ । यसअघिको नगरको निर्वाचनमा पनि कोइराला पौडेल पक्षको प्यानलले नै निर्वाचन जितेको थियो । 

एकाएक क्याम्प परिवर्तन गरेका धरानका नगर प्रमुख तिलक राई क्षेत्र नम्बर १ को सभापतिका उम्मेदवार छन् । कोइराला पौडेल पक्षधर मानिएका उनी एक्कासि देउवा क्याम्पमा देखिएका छन् । अब हुन लागेको क्षेत्रको निर्वाचनमा राई कमजोर रहेको आकलन गरिन थालिएको छ । प्रदेशसभा क र खको परिमाणले नै उनको अवस्थालाई देखाउनेछ । 

congress_dharan (1)

यता धनकुटामा सम्पन्न निर्वाचनबाट प्रदेशसभा खतर्फ राजन पौडेल निर्वाचित बनेका छन् भने कतर्फको निर्वाचन हुन सकेको छैन । पौडेलले २३३ मत प्राप्त गर्दै प्रत्यासी तिलक महतलाई हराएका छन् । महतले १७६ मत मात्रै प्राप्त गरे । कुल ४३५ मत खसेको थियो । समितिको सचिवमा दिलराज घिसिङ र गोपाल राई विजयी बने । सहसचिवमा विश्वास पुलामी र मणिराज राई विजयी बनेका छन् । यता उपसभापतिमा चन्द्रकुमार लिम्बू र भीमबहादुर खड्का निर्विरोध निर्वाचित भएका थिए । कतर्फ भोलि (आइतबार) निर्वाचन हुने जनाइएको छ ।