सुनसरी । नेपाली काङ्गे्रसको १४ औं महाधिवेशनबाट पार्टी हाँक्न सक्ने असल र कुशल नेतृत्व  छान्नुपर्नेमा सुनसरीका नेताहरूले जोड दिएका छन् ।

नेपाली काङ्गे्रस सुनसरी क्षेत्र नम्बर ४ ले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले व्यक्तिभन्दा सङ्गठन बलियो बनाउनुपर्नेमा जोड दिँदै गुट उपगुटभन्दा माथि उठेर सबैलाई मिलाएर लानसक्ने नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेकोे बताएका छन् ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सूचना सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्य र सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीको सभापतित्वमा आयोजना गरिएको सुनसरी क्षेत्र नम्बर ४ प्रदेशसभा क्षेत्र नम्बर (क) र (ख) तथा प्रतिनिधिसभा क्षेत्रको क्षेत्रीय अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका नेताहरूले सकभर सहमतिमा नै नयाँ नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका हुन् ।

मन्त्री कार्कीले १४ औं महाधिवेशनबाट जनआकाङ्क्षाअनुसार काम गर्ने व्यक्तिलाई आफ्नो समर्थन रहेकोे स्पष्ट पार्दै काङ्ग्रेस पार्टीलाई जनताको घरदैलोमा पुर्याउने नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् । १४ औं महाधिवेशन काङ्ग्रेसका निम्ति उत्सवको रूपमा रहेको बताउँदै उनले भने, ‘जिल्ला सभापतिलगायत सबै मिलेर सर्वसम्मतिमै नयाँ नेतृत्व चयन गर्नोस्, यदि त्यस्तो हुन सकेन भने नेपाली काङ्ग्रेस पार्टीलाई जनताको घरदैलोमा पु¥याउने व्यक्तिलाई निर्वाचित गराऔं ।’

भावना, उत्तेजनामा आएर होइन, गम्भीर भएर नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै मन्त्री कार्कीले थपे, ‘तपाईंको एक भोटले लोकतन्त्र कता लाने भन्ने निर्णय गर्नेछ  ।

त्यसैले भावनामा बगेर होइन, गम्भीर भएर नेतृत्व चयन गर्नुपर्ने आवश्यकता छ ।’ नेपाली जनताले मात्रै नभई अन्तर्राष्ट्रिय जगत्ले शेरबहादुर देउवा नेतृत्वको सरकार चाहेको दाबी गर्दै मन्त्री कार्कीले नेपाली काङ्ग्रेस १४ औं महाधिवेशनबाट देउवा नै सभापतिमा निर्वाचित हुनेमा आफू विश्वस्त रहेको बताए । ‘जनताले भरोसालायक काङ्ग्रेस चाहेको छ’ उनले भने, ‘त्यसैले क्षेत्रदेखि केन्द्रसम्म सही नेतृत्व छनोट गर्नुपर्ने आजको आवश्यकता हो ।’

सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सङ्घीय सांसद् तथा पूर्व राज्यमन्त्री सीताराम मेहताले भाषण गर्ने नभई काम गर्ने नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेकोे बताए । एक–अर्काको विरोध गर्नुभन्दा नेपाली काङ्ग्रेसलाई मिलाएर लानसक्ने असल र सफल नेतृत्व १४ औं महाधिवेशनबाट ल्याउनुपर्ने उनको भनाइ छ । सांसद् मेहताले भने, ‘गुटभन्दा माथि उठौं, नेपाली काङ्ग्रेसलाई हाँक्न सक्ने जनहितमा काम गर्ने नेतृत्व चुनौं ।’

सोही कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस सुनसरीका सभापति तथा प्रदेश नम्बर १ नेपाली काङ्ग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले सबैलाई समेटेर लानसक्ने नेतृत्व १४ औं महाधिवेशनबाट छान्नुपर्ने आवश्यकता रहेको बताए । विगतमा देशैभर नेपाली काङ्ग्रेस असफल भए पनि सुनसरी एकढिक्का भएकै कारण स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा काङ्ग्रेसका उम्मेदवार निर्वाचित गराउन सफल भएको स्मरण गराउँदै उनले व्यक्तिभन्दा सङ्गठन बलियो बनाउने नेतृत्व चयन गर्न सबैमा आग्रह गरेका थिए ।

नेपाली काङ्ग्रेसलाई हाँक्न सक्ने असल, इमानदार र सक्षम व्यक्तिलाई १४ औं महाधिवेशनबाट नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता रहेको काङ्ग्रेसका सुनसरी सचिव केदार भण्डारीले बताए । लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने पार्टी भएकाले नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमार्फत् सकभर सहमतिमै नभए स्वच्छ प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन हुनुपर्नेमा उनले जोड दिएका थिए ।

नेपाली काङ्ग्रेस इनरुवा नगर सभापति तथा इनरुवा नगरपालिकाका मेयर राजन मेहताले सङ्गठन बलियो बनाउँदै जनभावनाअनुसार काम गर्ने नेतृत्व चयन गर्न आग्रह गरे । उनले भने, ‘आज काङ्ग्रेसी नै काङ्ग्रेसीका दुश्मनमा भएका छन् । चिया पसलमै सरकार ढाल्नेदेखि बनाउनेसम्मका कुरा गर्छन् ।’ काम गर्ने सिलसिलामा भएका कमीकमजोरी देखाउनुभन्दा राम्रो गर्न खोज्ने व्यक्तिको मनोबल गिराउने काम दुःखद् भएको मेयर मेहताको कथन छ ।

सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले सुनसरी ४ मा संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा काङ्ग्रेसका उम्मेदवार पराजित भएकोमा आफूले पाएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका कारण ४ नम्बर क्षेत्रबाट सङ्घीय सांसद्का साथै दुईमध्ये एक प्रदेश सांसद् काङ्ग्रेसले जितेको दाबी गरे । उनले १४ औं महाधिवेशनबाट स्वच्छ, सक्षम र जनभावनाअनुसार काम गर्ने नेतृत्व चयन गर्न आग्रह गरे ।

नेपाली काङ्ग्रेसको संशोधित कार्यतालिका अनुसार १४ औं महाधिवेशन अन्तर्गत मङ्सिर ३ गते प्रदेशसभा, मङ्सिर ६ गते सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशन, मङ्सिर १० गते जिल्ला अधिवेशन, मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन र मङ्सिर २७ गतेदेखि पुस १ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तालिका रहेकोे छ ।