विराटनगर । पाँच दलीय गठबन्धन मिलेर बनेको प्रदेश १ सरकारले चालु आर्थिक वर्षको बजेट पुनरावलोकन गर्ने तयारी सुरु गरेको छ ।

तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले ल्याएको बजेट गठबन्धनको सरकारले मङ्सिर महिनाभित्रमा पुनरावलोकन गरी पुसदेखि कार्यान्वयनमा लैजाने तयारी अनुरूप गृहकार्य सुरु गरेको हो । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बिहीबार पत्रकार सम्मेलन गरी प्रदेशको बजेट पुनरावलोकन गर्ने जानकारी गराए ।

अघिल्ला सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने र अनुत्पादक, बिचौलिया, कार्यकर्ता पोस्ने र चुनाव लक्षित खालका कार्यक्रम खारेजी गरेर प्रदेश सरकार अगाडि बढ्ने मन्त्री आङ्बोले जानकारी दिए ।

‘सरकारले गरेका राम्रा कामहरू र हिजोदेखि सरकारले दायित्व सिर्जना गरेर अगाडि बढाएका कामलाई हामी निरन्तरता दिन्छौं’ उनले भने, ‘हामी राजनीतिक पूर्वाग्रहका आधारमा सरकारले अघि बढाएका कार्यक्रमलाई बीचैमा तुहाउने, फाल्ने वा अहिलेसम्म भएका लगानीलाई बालुवामा पानी हालेजस्तो बनाउने पक्षमा छैनौं ।’

सरकारको दायित्वमा आएका र राम्रा कामलाई निरन्तरता दिने उनको भनाइ छ । अनुत्पादक  क्षेत्र र व्यक्तिगत स्वार्थ केन्द्रित रहेर आएका कार्यक्रम खारेज गरिने उनले बताए । ‘समग्रमा यो बजेटको पुनरावलोकन हुन्छ’ उनले भने, ‘सरकारले आफ्ना प्राथमकिता समेटेर नयाँ कार्यक्रमलाई अगाडि बढाउने सोच बनाएको छ ।’

मङ्सिर महिनाभित्र बजेटको पुनरावलोकन गर्दै पुसबाट कार्यान्वयनमा जाने तयारी रहेको उनले बताए । ‘बजेटको आवश्यक सन्तुलन गर्ने अधिकार आर्थिक मामिला मन्त्रालयलाई दिइएको छ’ उनले भने, ‘आर्थिक कार्यविधि ऐन २०७४ लाई टेकेर बजेट पुनरावलोकन गरिनेछ ।’ अघिल्लो सरकारले चालु आर्थिक वर्षको बजेट ३२ अर्ब बढीको बजेट ल्याएको थियो ।

सबै राजनैतिक नियुक्ति खारेज हुने
गठबन्धनको सरकारले अघिल्लो सरकारले गरेको राजनैतिक नियुक्ति खारेज गर्ने भएको छ । राजीनामा दिएर मार्ग प्रशस्त नगरे वर्तमान सरकारले खारेज गरिदिने मन्त्री आङ्बोले बताए । उनले यसअघि  राजनीतिक नियुक्ति पाएकाहरूलाई राजीनामा दिन पनि आग्रह गरे ।

भीम आचार्यले आफ्नो दुई महिने कार्यकालमा राजनीतिक नियुक्तिहरू गरेका थिए । राजनीतिक नियुक्ति पाएकाहरूलाई राजीनामा दिन आग्रह गर्दै उनले राजीनामा नदिए पदमुक्त गर्ने बताए । ‘राजनैतिक नियुक्ति पाउनुभएकाहरूले राजीनामा दिएर मार्ग प्रशस्त गरी सरकारलाई सहयोग गर्नुहुन्छ भन्ने छ’–उनले भने ।

मङ्सिरभित्रै सरकारले पूर्णता पाउँछः आङ्बो
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मङ्सिर १५ भित्रमा प्रदेश १ सरकारले पूर्णता पाउने बताएका छन् । सरकारले पूर्णता पाएपछि लक्ष्यअनुसार जनताको चाहना र भावनालाई बुझेर काम गर्ने बताए ।

‘१५ मङ्सिरभित्रमा सरकारले पूर्णता पाउनेछ’ उनले भने, ‘कानूनको सीमाभित्र रहेर मन्त्रालय विस्तार गर्नेछौं ।’ संविधानको परिधिमा रहेर सरकार विस्तार गर्ने उनले बताए । मन्त्री आङ्बोले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ९० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य रहेको बताए । अहिलेसम्म १५.५ प्रतिशत बजेट खर्च भएको उनले बताए ।  भौतिक पूर्वाधार र पर्यटनको क्षेत्रमा महŒवपूर्ण योजना ल्याएर प्रदेश सरकारले काम सुरु गर्ने उनले बताए ।

स्वास्थ्य क्षेत्र अहिलेको आधारभूत आवश्यकताको क्षेत्र भएकोले स्वास्थ्यलाई पहिलो प्राथामिकतामा राखेर काम सुरु गर्ने मन्त्री आङ्बोले बताए । प्रदेश मातहतमा रहेका स्वास्थ्य उपचार केन्द्रहरूलाई सुदृढीकरण गरेर विशेष प्रथामिकतामा राखी काम गर्ने योजना रहेको उनले बताए ।

‘प्रदेश अन्तर्गत रहेका १४ वटै जिल्लाका अस्पतालहरूले प्रदान गर्ने सेवालाई गुणस्तरीय बनाएर अगाडि बढाइनेछ । अघिल्लो सरकारले काम होइन, बोल्ने मात्र काम ग¥यो । यसअघि कोभिड अस्पतालमा राखिएका उपकरणहरू स्टोरमा राखेका छन् । अहिले माकुराले जालो हालिसक्यो’–उनले भने ।

गठबन्धनको सरकारले प्रदेश मातहतमको आस्पतालको सेवा गुणस्तरीय सेवा प्रदान गर्न उच्च स्तरीय कार्यदल पनि गठन गर्ने तयारी गरेको उनले बताए । उक्त प्रतिवेदनअनुसार स्वास्थ्य क्षेत्रमा लगानी गरेर प्रदेश सरकार अगाडि बढ्ने उनले बताए ।

‘स्वास्थ्य क्षेत्रका विज्ञसहितको कार्यदल गठन हुनेछ । सो कार्यदलका सदस्यले दिएको प्रतिवेदनको आधारमा स्वास्थ्य क्षेत्रलाई सुधार गर्दै गुणस्तरीय सेवा दिन प्रदेश सरकार लागिपर्नेछ’ –मन्त्री आङ्बोले भने ।