मधुमल्ला । नेपाली काँग्रेस मिक्लाजुङ  गाउँ समितिले मिक्लाजुङ गाउँपालिकालाई तत्काल कर्मचारीका माग पुरा गर्न भन्दै ज्ञापन पत्र बुझाएको छ । कर्मचारीहरूका जायज मागहरूलाई बेवास्ता गरेमा चरणबद्ध आन्दोलनमा उत्रने नेपाली काँग्रेस मिक्लाजुङले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
 
मिक्लाजुङ गाउँपालिका क्षेत्रमा कार्यरत विभिन्न सेवाका कर्मचारीहरूलाई पुरा तलब नदिएको, अवकाश भएका कर्मचारीहरूलाई केहीलाई पुन नियुक्त दिएको र केहीलाई बेवास्ता गरेको साथै उमेर हदका कारण मङ्सिर १ गतेबाट स्वतः अवकाश हुने कर्मचारीहरूलाई खाली हात पठाउन नहुने नेपाली काँग्रेस मिक्लाजुङले बुधबार बुझाएको ध्यानाकर्षण पत्रमा  भनिएको छ । 

बिहीबार नेपाली काँग्रेस मिक्लाजुङका  सभापति बविकुमार राईको नेतृत्वमा गएको टोलीले मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।  मिक्लाजुङ गाउँपालिका क्षेत्रमा कार्यरत सामुदायिक विद्यालयका बाल विकाश सहजकर्ता र विद्यालय कर्मचारीहरूले संघिय सरकाले तोके बमोजिमको न्यूनतम तलब नपाएको भनेर चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

यस्तै मिक्लाजुङ गाउँपालिकाको आधारभूत स्वास्थ्य केन्द्रमा करारमा कार्यरत कर्मचारीहरूको करार अवधि सकिएपछि  पुन  केही कर्मचारीहरूलाई पुन सम्झौता गरी राखिएकोमा नेपाली काँग्रेस मिक्लाजुङले आपत्ति जनाएको छ । 

ज्ञापन पत्र बुझ्दै मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले नेपाली काँग्रेस मिक्लाजुङले उठाएका मागहरू प्रति गम्भीर रहेको बताए । संघिय सरकाले पर्याप्त बजेटको व्यवस्थापन नगरी नीति कार्यक्रम ल्याएकाले सरकाले न्यूनतम तोके बमोजिमको तलब उपलब्ध गराउन समस्या भएको अध्यक्ष आचार्यले बताए ।

साथै आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरूलाई पुन नियुक्ति नदिई उनीहरूको कार्य सम्पादन मूल्याङ्कनका आधारमा सम्झौता गरी केही समयका लागि केही कर्मचारी तत्काल प्राथमिक स्वास्थ्य केन्द्र संरचनाका लागि राखिएको आचार्यले बताए ।