भद्रपुर । आफ्नै एक नम्बर प्रदेशसहित देशका सातै वटा प्रदेशमा आफ्नो पक्षका कोही पनि नजितेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्ष उठ्ने राजेन्द्र लिङ्देनको योजनामा ठुलो धक्का लागेको छ ।

कात्तिक २८ र २९ गते भएको राप्रपाको प्रदेश अधिवेशनमा देशका ७ वटा प्रदेशमध्ये ६ वटामा कमल थापा पक्षकाले जितेका छन् । गण्डकी प्रदेशको अध्यक्षमा जित्ने हेमराज गुरुङ कुन पक्षका हुन् भनेर खुलिसकेको छैन । यहाँसम्म कि लिङ्देनले एक नम्बर प्रदेश अध्यक्षमा उठाएको भक्तिप्रसाद सिटौलाले समेत हारेका छन् । आफ्नै गृह प्रदेशमा आफू पक्षधरले हार्दा लिङ्देनले केन्द्रीय अध्यक्षमा जित्ने आधार नदेखिएको विश्लेषकहरू बताउँछन् । राप्रपाको एक नम्बर प्रदेश समितिको अध्यक्षमा कमल थापा पक्षका राम थापा विजयी भएका हुन् ।

प्रदेश समितिको लागि दमकमा भएको निर्वाचनमा लिङ्देन पक्षधर भक्ति सिटौलालाई ५२ मतले पराजित गरी थापा निर्वाचित भएका हुन् । थापाले २७५ मत पाउँदा सिटौलाले २३७ मत ल्याएका थिए । 

यही मङ्सिर ११, १२ र १३ गते काठमाडौँमा राप्रपाको महाधिवेशन हुँदैछ । त्यस महाधिवेशनमा केन्द्रीय अध्यक्षमा उठ्ने लिङ्देनले इच्छा व्यक्त गरेका छन् । कमल थापालाई टक्कर दिने गरी अध्यक्षमा उठ्ने उनको योजनामा तुसारापात भएको हो । पार्टीमा गुट सिर्जना गर्न खोज्दै आफूलाई सर्वेसर्वा ठान्दा यस्तो परिणाम भोग्नु परेको निर्वाचित अध्यक्ष राम थापाले प्रतिक्रिया दिएका छन् । प्रदेशमा मात्र नभएर आफ्नै जिल्लामा पनि लिङ्देनको राम्रो पार्टी जनमत नभएको उनले बताए । झापा क्षेत्र नं ३ को सङ्घीय निर्वाचनमा सिङ्गो पार्टी पङ्क्तिले सांसदमा जिताएको उनले बताए ।