धनकुटा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको देशव्यापी रूपमा आएको जनलहर देखेर विपक्षीहरू आत्तिएको दाबी गरेका छन् ।

४३ औं सहिद दिवसको अवसर पारेर धनकुटाको छिन्ताङका सहिदहरूको सम्मानमा नेकपा (एमाले) धनकुटाले आयोजना सहिद स्मृति सभालाई सोमबार सम्बोधन गर्दै उनले आगामी चुनावमा जसरी भए पनि बहुमत ल्याएर छाड्ने दाबी गरे ।

ओलीले सहभागी सयौं नेता कार्यकर्ताहरूलाई ढुक्क भएर चुनावी अभियानमा लाग्न आग्रह गरे । ओलीले मजाक गर्दै ठट्यौली गर्दै भने, ‘नेकपा (एमाले)ले कार्यक्रम गर्दा पाखा, भित्ता र कान्ला–कान्लामा मान्छे हुन्छन्, त्यसैले आगामी चुनावमा पनि धनकुटा जिल्लालाई क्लिन स्विप बनाउनु पर्छ ।’

नेकपा (एमाले) अहिले पनि देशको सबैभन्दा शक्तिशाली र ठूलो पार्टी भएको दाबी गर्दै ओलीले भने, ‘एमालेसँग पहिले नै ४४ लाख भोट थियो, ११ लाख बदर भयो, अब बदर हुन दिनुहुन्न, नेता कार्यकर्ता चनाखो हुनुपर्छ ।’ उनले आगामी चुनावमा ५५ लाखभन्दा माथि भोट पुर्याउन कार्यकर्तालाई ओलीले उर्दीसमेत जारी गरे ।

उनले सूर्यबहादुर थापाको विरासतको डोको बोकेर उनका छोरा सुनिलबहादुर थापा काङ्ग्रेसमा प्रवेश गरेकाले अब ०३६ सालको छिन्ताङ हत्याकाण्डको जिम्मा पनि डोकोसँगै काङ्ग्रेसले लिएको ठोकुवा गरे ।

उनले पल्ला गाउँका प्रधानमन्त्री देशको प्रधामन्त्री भएको बेला वल्ला गाउँका सयौं छिन्ताङका जनताको हत्या हुन्छ भने अब धनकुटामा नेपाली काङ्ग्रेसलाई सबैले चिन्ने बेला आएको बताए ।

नेकपा (एमाले) धनकुटाका अध्यक्ष राजेन्द्रकुमार राईको अध्यक्षतामा सम्पन्न सहिद स्मृति सभामा स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, शङ्कर पोख्रेल, पूर्व गृहमन्त्री एवम् स्थायी कमिटी सदस्य रामबहादुर थापा बादललगायतको उपस्थिति थियो । कार्यक्रममा माओवादी केन्द्रका जनप्रतिनिधिहरू पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन् ।

dkt-amale