धरान /नेकपा (एमाले) संस्थापन र इतर पक्षबीच महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारीमा होडबाजी भएपछि सहमतिको वातावरण तयार गर्न सुनसरीमा मङ्सिर ३ गतेसम्मका लागि नयाँ कार्यसूची तयार गरिएको छ । 

यस कार्यसूचीअनुरूप मङ्सिर २ गतेसम्म दुवै पक्षबीचमा सहमति नबनेमा भने मतदान प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिने जिल्ला सदस्य रवि खनालले जानकारी दिए । उनका अनुसार अहिले संस्थापन र इतर पक्षबीच सहमतिका माध्यमबाट प्रतिनिधि छनोट गर्नकै लागि नयाँ कार्यसूची तयार गरिएको हो । क्षेत्र नम्बर १ मा दुवै पक्षलाई मिलाउनका लागि संस्थापनबाट मोतीराज सुनुवारको नेतृत्वमा र इतर पक्षबाट सङ्घीय सांसद जयकुमार राईको नेतृत्वमा छलफल र वार्ता चलिरहेको छ ।

मङ्सिर ३ गतेसम्म वार्ता र छलफलको माध्यमबाट प्रतिनिधि छनोट गर्ने कसरत हुनेछ । जिल्लामा ४२ जना महाधिवेशन प्रतिनिधि छनोट हुनुपर्ने भए पनि अहिले करिब तीनगुणा बढी उम्मेदवारी परेको छ । सुनसरीका चारवटा क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा ३१ जना, क्षेत्र नम्बर २ मा ४२ जना, क्षेत्र नम्बर ३ मा ३२ जना र क्षेत्र नम्बर ४ मा ३१ जनाको उम्मेदवारी परेको छ । जसमा संस्थापन र इतर पक्षका नेता कार्यकर्ताहरूले उम्मेदवारी दिएका छन् । 

क्षेत्र नम्बर १ मा संस्थापन पक्षले खुल्लातर्फ तीन महिलासहित ९ जनाको नाम सार्वजनिक गरेको थियो तर इतर पक्षले पनि उम्मेदवारी दिएपछि दुवै पक्षबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने गरी वार्ता गर्नका लागि नेताहरूलाई जिम्मेवारी दिइएको छ । १ नम्बर क्षेत्रका महाधिवेशन प्रतिनिधि मिलान गर्नका लागि मोतीराज सुनुवारको नेतृत्वमा केदार लामिछाने, सुवास पौडेल र डम्बर गुरुङ छन् भने इतरपक्षबाट सङ्घीय सांसद जयकुमार राई, सूर्य पन्धाक, पदम इस्बो र राजमणि निरौला छन् ।

महाधिवेशन प्रतिनिधि छनोट भएकाहरू मात्रै १० औं महाधिवेशनमा सहभागी हुन पाउँछन् । मङ्सिर ३ गतेसम्म सहमतिका आधारमा प्रतिनिधि छनोट नभएमा क्षेत्रगत रूपमा नवीकरण गरेका सङ्गठित सदस्यले मतदान गरेर महाधिवेशन प्रतिनिधि छनोट गर्ने सदस्य खनालले जानकारी दिए । ‘मङ्सिर २ गतेसम्म दुवै पक्षमा सहमति बनेन भने मङ्सिर ३ गते मतदानको माध्यमबाट प्रतिनिधि छनोट हुन्छन्’ उनले भने । 

एनका अनुसार क्षेत्र नम्बर १ मा खुल्लातर्फ ९ जना महाधिवेशन प्रतिनिधि छनोट हुन्छन् भने २ मा ८ जना, ३ मा ६ जना र ४ मा ६ जना प्रतिनिधि छनोट हुन्छन् । यता दलित कोटाबाट छुट्टै प्रतिनिधि रहने व्यवस्था छ । एमाले सुनसरीका करिब २२ हजार सङ्गठित सदस्य रहेका छन् । जसमध्ये क्षेत्र नम्बर १ मा मात्रै करिब ३६ सयमाथिले नवीकरण गरेका छन् । कुल सङ्ख्या भने ५ हजार ६ सय ३४ भए पनि हालसम्म ३६ सयले नवीकरण गरेका हुन् ।