विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने भएका छन् । कात्तिक ३० अर्थात् मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने भएका हुन् । 

प्रदेशसभा नियमावली अनुसार मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिन चाहेको सूचना छलफल हुनुभन्दा दुई दिनअघि संसद् सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान छ । सोही अनुसार कात्तिक ३० गते सदनबाट विश्वासको मत लिने तयारीका लागि आइतबार संसदमा सूचना पठाइएको मुख्यमन्त्रीका स्वकीय सचिव सन्दीप राईले जानकारी दिए ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो । पाँच दलीय गठबन्धन सरकारमा समाजवादीका अलावा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।

विश्वासको मत लिएपछि मात्रै प्रदेशमा मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा सरकार रहेको छ । भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारीमा सत्ता गठबन्धन लागेको छ । 

पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्सीय प्रदेशसभामा हाल कायम सङ्ख्या ९२ छ । गठबन्धनमा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र सङ्घीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् ।

मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत सङ्ख्या ३९ मात्रै हुन्छ । त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत आर्जन गर्ने अवस्था छ ।