धनकुटा । नेकपा (एमाले) ले सोमबार धनकुटाको छिन्ताङमा १५ हजार जिल्लाभरिबाट नेता कार्यकर्ता उतार्ने भएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटी धनकुटाको अगुवाइमा सोमबार छिन्ताङमा हुने ४३ औं छिन्ताङ सहिद स्मृति दिवसमा एमालेका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि १५ हजार नेता कार्यकर्ता उतार्ने तयारी पूरा भएको जनाएको छ ।

नेकपा (एमाले) धनकुटाले आइतबार साँझ धनकुटामा पत्रकार सम्मेलन आयोजना गरेर जिल्लाको सातै स्थानीय तहका ६० वटा वडाबाट १५ हजारको सङ्ख्यामा जनसमुदायको उपस्थिति हुने जानकारी दिएको छ । ४३ ओ छिन्ताङ सहिद दिवसको अवसरमा आयोजना हुने स्मृतिसभालाई एमालेका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल गुरागाईंले निरङ्कुश तानाशाही पञ्चायती व्यवस्थाविरुद्धको लोकतान्त्रिक आन्दोलनमा छिन्ताङका जनताले ठूलो त्याग र बलिदान गरेकाले सम्मान स्वरूप स्मृतिसभा वर्षौदेखि एमालेले आयोजना गर्दै आएको जनाए ।

उनले छिन्ताङका १६ जना सहिद राष्ट्रिय सहिद भए पनि पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा सहिद परिवारलाई जनही १ लाख र प्रदेश नं..१ का मुख्यमन्त्री शेरधन राईको पालामा ५ लाख रुपैयाँ सहयोग प्रदान गरिएबाहेक अन्य उल्लेख्य सहयोग प्राप्त नभएको बताए ।

उनले पछिल्लो समयमा प्रजातन्त्रको रसस्वादन गर्दै हिँडिरहेका राजनेताहरूलाई छिन्ताङका १६ जना सहिदहरूका परिवारलाई नजिकबाट नियाल्न नेता गुरागाईंले आग्रह गरे । उनले सहिद परिवारको आर्थिक समृद्धि र उन्नतिको लागि नेकपा (एमाले)ले छिन्ताङमा एकीकृत नमुना बस्ती विकासलगायतका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा अघि सारिरहेको दाबी गरेका छन् ।

नेकपा (एमाले)का उप–सचिव निरन राईको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेकपा (एमाले) केन्द्रीय प्रचार विभाग सदस्य चेतन अधिकारी, एमाले नेता दुर्गा प्रसाईं, जिल्ला नेता भीम राई, नैन विश्वकर्मा, तारा तितुङलगायत नेताहरूको उपस्थिति रहेको थियो ।