धरान । संस्थापन इतर पक्षलाई नसमेटी नेकपा एमाले क्षेत्र नम्बर १ बाट १० औं महाधिवेशन प्रतिनिधिको नाम टुंगो लगाएको छ । 

संस्थापन पक्षले आफ्ना तीन महिलासहित ९ जनाको अन्तिम नामावली टुंगो लगाएको हो । जसमा इतर पक्षमा समावेश छैनन् तर इतर पक्षलाई पनि समेटेर जाने एक नेताले जानकारी दिए । आइतबार इनरुवामा महाधिवेशन प्रतिनिधिको लागि नामावली दर्ता गराउने समयमा संस्थापन र इतर पक्षबाट ३१ जनाको नाम परेको थियो । जसमा संस्थापनबाट मात्रै २१ जना रहेका थिए भने १० जना इतर पक्षका थिए । इतर पक्षले धरानको होटल ड्रिमल्याण्डमा एक कार्यक्रम गर्दै महाधिवेशन प्रतिनिधि छनोटमा सहभागी नहुने भनी निर्णय गरेको थियो तर आइतबार इनरुवास्थित पार्टी कार्यालयमा इतर पक्षका नेताले पनि उम्मेदवारी दर्ता गराएका थिए । 

संस्थापन पक्षको खुल्लाबाट मुरारी सुवेदी, मीनकुमार सुब्बा, खम्बसिंह गुरुङ, विजय राई, राम आङ्बुहाङ र योग्यराज खड्का रहेका छन् भने महिलातर्फ वीणा खनाल, मञ्जु भण्डारी र लहरुमाया जिमी छन् । २०७५ जेठ २ अघिको निर्णयका पक्षधरहरू भने नाम दर्ता गराए पनि नाम समावेश गरिएको छैन । इतर पक्षका जिल्ला स्तरका नेता रमेश बस्नेत, पदम इस्बोलगायतले नाम दर्ता गराएका थिए ।