झापा । सङ्घीय लिम्बुवान मञ्च नेपाल झापाको मङ्सिर २ गते हुने छैटौँ जिल्ला अधिवेशनमा पाँच जनाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । 

अधिवेशनको तयारीका लागि शनिवार बिर्तामोडमा मञ्चद्वारा आयोजित पत्रकार भेटघाटका क्रममा उनीहरूले उम्मेदवारी घोषणा गरेका हुन् ।  अध्यक्ष पदका आकाङ्क्षीहरू हालका वरिष्ठ उपाध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष ज्वाला इम्बुङ, उपाध्यक्ष अमित खम्बु, सचिव आङथुपो र सचिव तीर्थराज पौडेलले आ–आफ्नो उम्मेदवारी पत्रकार सम्मेलनमै घोषणा गरेका हुन् । 

पत्रकार भेटघाटमा अधिवेशन सम्पन्न गर्नका लागि मञ्चले विभिन्न उपसमिति निर्माण गरेको मञ्चका झापा अध्यक्ष धनबहादुर पन्धाकले जानकारी दिए । मञ्चले आर्थिक समितिको संयोजकमा अमित खम्बु, सदस्यमा तीर्थराज पौडेल र बुद्धिमान तामाङ, स्टेज व्यवस्थापन तथा अतिथि सत्कार संयोजकमा ज्वाला इम्बुङ सदस्यमा नारायण तामाङ र शिबकुमार राई, प्रचारप्रसार/जनपरिचालन/यातायात व्यवस्थापन संयोजकमा राजा आङथुपो सदस्यमा विजय ठाडामगर, कृष्णबहादुर सेन्दाङ, लीलानाथ आङदेम्बे, बिक्रम चेम्जोङ, अमर माबोहाङ र प्रताप निङलेखु रहेका छन् । 

अधिवेशनका लागि अनुमानित १० लाख खर्च हुने र उक्त खर्च  जिल्लाभरका ७ हजार सदस्यबाट साथै विभिन्न सङ्घ/संस्थाबाट जुटाइने अध्यक्ष पन्धाकले जानकारी दिए ।