सुनसरी । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका मातृकाप्रसाद यादवले देशको विकास, संविधानको रक्षा र जनताको भावनाको सम्बोधन गर्नका लागि वर्तमान गठबन्धन बनेको बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता यादवले संविधानको रक्षा गर्दै जनताको भावना सम्बोधन गर्ने उद्देश्यले वर्तमान गठबन्धन  बनेकाले आगामी निर्वाचनसम्म समन्वय र सहकार्यसहित टिक्नेमा ढुक्क रहन आग्रह गरे । देशको आवश्यकतालाई ध्यानमा राखेर पाँच दलीय गठबन्धन बनेको र यो अगामी निर्वाचनसम्म मजबुत भएर टिकिरहने उनले दाबी गरे । प्रतिगमनकारीलाई परास्त गर्न अग्रगमनकारीबीच सहकार्य आवश्यक रहेको र त्यसैलाई सार्थक पार्नका लागि ओली विरुद्ध आफूहरूसमेत लागेर गठबन्धन बनाएको नेता यादवको भनाइ छ ।

गठबन्धन बीचमा तालमेल नभएको  सञ्चारकर्मीको  जिज्ञासामा उनले भने, ‘कुनै पनि सत्ता र गठबन्धन वा पार्टीमा नेतृत्व गर्नेहरूको बीचमा विवाद र अन्तरद्वन्द्व हुनु स्वभाविक हो । तर, त्यसलाई मिलाएर लानु नै राजनीति भएकाले तालमेल नमिलेको भन्नु सही होइन ।’ एक फरक प्रसङ्गमा नेता यादवले तीनै तहको निर्वाचन एकै पटक गरिनुपर्नेमा जोड दिए । ‘देशको आवश्यकता र आर्थिक मितव्ययिताको अवस्थालाई हेर्दा तीनै तहको निर्वाचन एकै पटक गर्दा राम्रो हुन्छ’ उनले भने ‘एकैपटक नभए पनि राज्य र जनतालाई सजिलो हुने गरी कसरी चुनाव गर्ने भन्ने विषयमा गठबन्धनको बीचमा छलफल भइरहेको छ ।’

तीनै तहको निर्वाचन एकै पटक गर्ने कि भन्ने विचार पनि आएको बताउँँदै यादवले  सबैभन्दा राम्रो राज्यलाई कम भार पर्ने, जनतालाई कम दुःख हुने भएकाले तीनै तहको निर्वाचन एकै पटक गर्नु उचित हुने बताए । यसो गर्दा मतदातासहित राजनीतिक दललाई पनि सजिलो हुने उनको बुझाइ छ् । ‘धेरै चलखेल, षड्यन्त्र पनि गर्न नपाउने, राज्यलाई आर्थिक बोझ पनि कम हुने र राजनीतिक दललाई पनि सजिलो हुन्छ कि भन्ने एउटा विचार छ’–नेता यादवले अगाडि भने ।

सरकार सङ्घीय गणतन्त्रलाई सुदृढ बनाउने गरी काम गरिरहेको बताउँदै उनले यसअघिको सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न आवश्यक ऐन, कानून बनाउनेतर्फ ध्यान नदिएको आरोप लगाए । अहिले निर्वाचनको बारेमा भन्दा संविधानको रक्षा, विभिन्न आन्दोलनको उपलब्धि रक्षा र जनताको आवश्यकता पूरा गर्ने विषयमा गठबन्धनबीचमा निरन्तर छलफल भइरहेको नेता यादवले बताए ।