धरान । नेपाली काङ्ग्रेस धरान उपमहानगरपालिका वडा नं. १५ को कार्यालय उद्घाटन गरिएको छ ।

धरान–१५ को श्यामचोकमा प्रतिनिधिसभा सदस्य मीना सुब्बा, प्रदेश १ का पूर्वप्रमुख डा.गोविन्द सुब्बालगायतले कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटनसँगै १४ औ महाधिवेशन अन्तर्गत भएको वडाअधिवेशनबाट निवार्चित नयाँ वडा कार्यसमितिको पदस्थापन कार्यक्रम पनि सम्पन्न भएको छ ।

वडा अधिवेशनबाट धरान–१५ मा काङ्ग्रेस सभापतिमा डम्बरबहादुर गुरुङ, उपसभापति डिकबहादुर तामाङ र राजन खड्का, सचिवमा हरिबहादुर श्रेष्ठ र गजेन्द्र लिङ्थेप, सह–सचिवमा ललितमान योञ्जन र सचिन राई, कोषाध्यक्षमा कुमारी लिम्बूसहित २९ सदस्यीय समिति निर्वाचित भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सुब्बाले नगर र वडाको महाधिवेशन सम्पन्न भएपछि नयाँ नेतृत्वसहित जनताको घरदैलोमा नेपाली काङ्ग्रेस पुग्न थालिसकेको बताइन् ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पार्टीको महाधिवेशनबाट काम गर्न सक्ने व्यक्तिहरू निर्वाचित गर्न आग्रह गर्दै कार्यसमितिलाई बधाई दिए ।

काङ्ग्रेस धरानका सभापति श्याम पोख्रेलले १४ औं महाधिवेशनपछि गाउँ–गाउँमा पुग्ने वाचाअनुसार वडा नं. १५ बाट उक्त कार्यको थालनी भएको बताए ।