विजयपुर । सङ्घीय लिम्बूवान राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ ले वैदेशिक रोजगारमा गएका लाखौँ युवालाई स्वदेश फर्काउने आफ्नो पार्टीको तयारी रहेको बताएका छन् । 

उनले मञ्चको शुक्रबार धरानमा आयोजित तेस्रो सुनसरी जिल्ला र धरान नगर अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले २० हजार रुपैयाँका लागि ज्यानको बाजी राखेर खाडी गएका जनशक्तिलाई स्वदेश फर्काउने आफ्नो पार्टीको अभियान रहेको बताए । 

‘नेपालमा सामान्य नागरिकले स्वास्थ्य, शिक्षा, रोजगारीका लागि पहुँच आवश्यक पर्छ । जागिर पाउन सोर्सफोर्स, स्वाथ्य उपचार पाउन सोर्सफोर्स चाहिन्छ’ उनले भने, ‘तपाईंले चिनेको छैन, पहुँच छैन भने आधारभूत सेवा नपाउने ?’ उनले सङ्घीय मञ्चको सङ्घर्ष गरिब निमुखा नागरिकले आधारभूत सेवा सहज रूपमा पाउनका लागि भएको र सो अभियानमा सबैलाई लामबद्ध हुन आह्वान गरे । 

सङ्घीय लिम्बूवान राष्ट्रिय मञ्च अरूभन्दा फरक पार्टी भएको बताउँदै भने, ‘एमाले काङ्ग्रेस जस्तै सम्झियौँ भने भुल हुन्छ ।’ उनले फरक सन्दर्भमा सबैभन्दा भ्रष्टाचारी पार्टी एमाले भएको दाबी गरे । उनले भने, ‘भ्रष्टाचारीले ७० करोड खाएको छ । १० करोड एमालेलाई दिएको छ । किन कारबाही गर्छ ?’ त्यस्तै सामन्ती पार्टी काङ्ग्रेस भएको उनले बताए । ‘सामन्तले ७० बिघा लुकाएर राखेको छ । काङ्ग्रेसले १० बिघा पाउँछ । अनि किन कारबाही गर्छ ?’ 

यस्ता पार्टीबाट गरिब, दुःखीको मुक्ति कहाँ हुन्छ ? उनले प्रश्न गरे । काङ्ग्रेस र एमालेका नेताहरूले सङ्घीयता भनेको कुन चराको नाम हो ? भनेर आफूलाई सोध्ने गरेको उनले बताए । उनले भने, ‘काङ्ग्रेस एमालेहरू मिराकजी सङ्घीयता भनेको कुन चराको नाम हो ? भनेर सोध्थे । हामीले लड्यौ । ७ प्रान्तीय सङ्घीयता आयो । अबको सङ्घर्ष १० प्लस १ प्रान्तको हो ।’ उनले कोरोनाको नियन्त्रण गर्न काङ्ग्रेस, एमाले र माओवादीको सरकार असफल भएको र धेरै नेपालीले अकालमा ज्यान गुमाउनु परेको दाबी गरे ।