लक्ष्मीमार्ग ।  नेपाल सरकारका रक्षा मन्त्री तथा नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपाली काँग्रेस  केपी ओलीलाई एक्ल्याउने पक्षमा नरहेको बताएका छन् ।

केही दिन अघि गठबन्धन सरकारको साझेदार दल नेकपा माओवाद केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारको गठबन्धन चुनाव सम्म कायम रहने कुराको खण्डन गर्दै मन्त्री रिजालले कुनै दल विशेषलाई एक्ल्याउने पक्षमा काँग्रेस नरहेको बताए । 

नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री रिजाल शुक्रबार सो कुरा बताएका हुन् । मन्त्री रिजालले भने, "नेकपा एमाले सर्वसत्तावाद तर्फ उन्मुख भएकोले संविधानको रक्षाका लागि मात्र काँग्रेस गठबन्धनमा सहभागी भएको हो ।"

उनले एमाले सरकार रही रहेको भए वर्तमान संविधान जीवित नरहने धारण राख्दै भने, " संविधान जीवित रहे राजनीतिक अभ्यास हरेक खालका गर्न सकिन्छ । तर, कम्युनिष्टहरूले संविधान माथि नै आक्रमण गरेपछि काँग्रेसले लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरेको हो ।"

गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा गर्दै मन्त्री रिजालले विश्वभर नै उच्च राजनीतिक छवि बनाएर गिरिजाप्रसाद कोइराला अस्ताएको बताए । उनले बैधानिक बाटोमा आए गठबन्धन जोसँग पनि हुने सङ्केत गरे । एक फरक प्रसङ्गमा उनले भने धेरै बोल्ने भएकोले मलाई कम बोल्नु पर्ने मन्त्रालय र सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की कम बोल्ने भएकोले बढी बोल्नु पर्ने मन्त्रालय दिएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, पूर्व राज्य मन्त्री दिलीपकुमार गच्छदार,मोरङ काँग्रेसका उपसभापति भक्ति माझी सचिवद्वय नागेश कोइराला र मोदराज घिमिरे ,सुन्दरहरैँचाका नगरप्रमुख शिव प्रसाद ढकाल लगायतले बोलेका थिए ।

कार्यक्रममा गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारहरू शेखर रेग्मी,कुमोद अधिकारी र दिनेश गिरीलाई पुरस्कृत गरियो । नगद १५ हजार रुपैयाँ सहित प्रमाण पत्र र दोसल्लाबाट मन्त्री रिजालले सम्मान गरे ।

यस्तै नेपाली काँग्रेसको चौधौँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित पत्रकारहरू प्रेस युनियन मोरङ शाखाले कदर पत्र प्रदान गरेको छ । बेलबारीको तमु बौद्ध गुम्बामा आयोजित कार्यक्रम युनियनको मोरङ शाखाका सभापति भोजराज बस्नेतको सभापतित्वमा भएको थियो ।