वराहक्षेत्र । विश्व सामु नेपाललाई कुम्भको माध्यमबाट चिनाउने प्राचीन हरिद्वार चतराधामका सर्जक नेपालको प्रथम जगद्गुरु बालसन्त मोहन शरण देवाचार्य महाराजलाई राष्ट्रले सम्मान गर्नुपर्ने पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् ।

शुक्रबाट वराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर १ चतरामा सुरु भएको श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञको उद्घाटनमा बोल्दै प्रमुख अतिथि नेपालले त्यस्तो बताएका हुन् ।

पावन भूमि चतरामा नेपालकै पहिलो कुम्भ आयोजना गरेर राष्ट्रको धार्मिक क्षेत्रमा  निस्वार्थ सेवा गरेर यसको प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान गर्ने महाराजलाई बिर्सन नहुने उनले बताए ।

जगद्गुरुले सरकारको सहयोग नगरी कुम्भ मेलाको आयोजना कठिन भएकोले चतरा धाममा लाग्ने कुम्भ मेलालाई नेपाल सरकार तथा प्रदेश सरकारले १ करोड बजेट छुट्टाउनुपर्ने मागलाई सम्बोधन गर्दै यसको लागि नेपाल सरकारले बजेट विनियोजन गरेको बताए ।

यसै गरी नेपालको सम्पूर्ण तीर्थस्थलको एकै स्थानमा दर्शन गर्न मिल्ने धार्मिक सङ्ग्रहालय बनाउने निर्णय गरेको बताउदै स्थान चयनको लागि काम भई हरेको बताएका छन् ।

फरक प्रसङ्गमा कुरा गर्दै अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै, म मात्र श्रेष्ठ हु, भन्ने दम्भी र अहङ्कारी प्रवृत्तिले अन्ततः पार्टी फुटाएको बताए