धरान । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदच्यूत गर्नुपर्ने नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आवाज उठाएका छन् । 

आज (बिहीबार)को विरोध प्रदर्शनका क्रममा प्रहरीसँग घम्साघम्सी परेपश्चात् अध्यक्ष श्रेष्ठले पदच्यूत गर्नुपर्ने आवाज उठाएका हुन् । दुई सातादेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आइरहेका छन् । सर्वोच्च अदालत परिसरमा धर्नामा रहेका एसोसिएसनमा आवद्ध कानून व्यवसायी र प्रहरीबीच आज घम्साघम्सी भएको थियो । न्यायालय सुधारका लागि अहिलेको उत्तम विकल्प नै प्रधानन्यायाधीशको राजीनामा रहेको बताए । 

उनले न्यायालयमा बढेको भ्रष्टाचारको मुख्य जड नै प्रधानन्यायाधीश जबरा रहेको उनको आरोप छ । भ्रष्टाचारको विषयमा पूर्वप्रधानन्यायाधीशहरूले पनि बोल्दै आएका छन् । न्यायालयलाई स्वच्छ र निस्पक्ष बनाउनुपर्ने आवाज उठ्दै आएको छ । 

नेपालमा तीनवटा पालिकामध्ये न्यायपालिकाले अहिलेसम्म स्वतन्त्र मानिँदै आए पनि चोलेन्द्रशमशेर प्रधानन्यायाधीश बनेयता न्यायालय पनि बिग्रदै गएको अध्यक्ष श्रेष्ठले बताए । कात्तिक १४ गतेदेखि बारले शान्तिपूर्ण प्रदर्शन गरिरहेको छ तर आज प्रधानन्यायाधीशको निर्देशनमा प्रहरीहरूले आफूहरूमाथि हस्तक्षेप गरेकामा उनले आक्रोस व्यक्त गर्दै पदच्यूत गरिनुपर्ने बताए । 

उनले भने, ‘आजका दिनअघिसम्म हामीले राजीनामा देऊ भन्दै आएका थियौं, तर अब पदच्यूत नै गर्ने बेला आएको छ ।’ प्रधानन्यायाधीशलाई पदच्यूत गर्नका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक तिहाइ सदस्यले महाभियोगका लागि प्रस्ताव पेश गर्ने सक्ने व्यवस्था नेपालको संविधानको धारा १०१ को उपधारा २ मा व्यवस्था छ । 

सोही व्यवस्थालाई टेकेर संविधानको भाग ११ को १३१ धारामा पद रिक्त गर्न सकिने व्यवस्था छ ।