धनकुटा । प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश नामाकरण आगामी हिउदे अधिवेशनमा छलफलका लागि प्रस्ताव अघि सारिने बताएका छन् । 

नामाकरणको प्रस्ताव पारित गर्न नेकपा एमालेको मुख्य भुमिका र साथ रहेकोले अन्यथा अप्ठेरो अवस्थामा रहेको मुख्य मन्त्री राईको भनाई छ । धनकुटामा रहेको मुख्य मन्त्रीको सम्पर्क कार्यालयमा मंगलबार अपरान्ह आयोजित पत्रकार भेटघाटमा उनले उक्त कुरा बताएका हुन् । वहुपहिचानको आधारमा नामाकरण तोकिनेबारेमा नेकपा समाजवादी सहित गठबन्धन दलको निश्कर्ष रहे पनि दुई तिहाईबाट पारित गर्न एमालेको साथ मुख्य रहेको मुख्यमन्त्री राईले बताए । 

नामाकरण प्रस्ताव आगामी हिउ“दे अधिवेशनमा अघि सार्ने योजनामा रहेका राईले त्यस अघि एमाले लगायत दलहरुसंग छलफल गर्ने उल्लेख गरे । यस अघि वहुपहिचानको नाराबाट एमाले पछि सरेकोले कोसी प्रदेशमा अडिग रहेको प्रसंग जोड्दै राईले आफुहरु बहुपहिचानबाट पछि हट्न नसक्ने बताए । कांग्रेसले पहिचानमा चासो नदिएको भन्दै उनले जनता समाजवादी लगायत नेकपा समाजवादीले वहुपहिचानको मुद्धालाई अघि सारेको बताए । राईले विश्वासको मत आगामी कात्तिक ३० गते लिने जानकारी दिए । 

फरक प्रसंगमा राईले धनकुटामा खोलिने भनिएको शिक्षण अस्पतालको लागि आवश्यक बजेट व्यवस्थापनमा आफु लागि पर्ने आश्वासन दिए । आवश्यक जग्गा र भौतिक पुर्वाधारका लागि बजेट बढि लाग्ने भएकोले जटिलता भएपनि आफ्नो कोसिस जारी रहने उनको तर्क थियो । धनकुटामा मुख्यमन्त्री सम्पर्क कार्यालय खोलिएपनि अव्यवस्थित भएको आफु जनशक्ति व्यवस्थापन गर्ने उल्लेख गरे । क्यालेन्डर बनाएर आफु सम्पर्क कार्यालयमा आएर धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जिल्लाका सेवा प्रवाहमा प्रदेश सरकारले गर्ने कार्य गर्ने उनले जनाए । मुख्य मन्त्री राईले सलामीको लागी राखीको सलामी मञ्च हटाएर मात्र सम्पर्क कार्यालयमा सलामी ग्रहण गरेका थिए ।