पथरी । सत्तारूढ पार्टीहरूको गठबन्धन आगामी चुनावसम्म कायम गर्नुपर्ने जोड स्थानीय तहका राजनीति दलहरूका प्रतिनिधिहरूले गरेका छन् । 

जनता समाजवादी पाटी नेपाल पथरीशनिश्चरे नगर कमिटीले बुधबार आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम वक्ताहरूले बोल्ने क्रममा सो कुरामा जोड दिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि रहेका जनता समाजवादी पार्टी, नेपालका प्रदेश अध्यक्ष प्रवीण चाम्लिङले जनताका समस्याहरूको समाधान, उपलब्धिको संरक्षण, संविधानमा उल्लेख भएका खराब कुराहरूको संशोधन गर्दै अगाडि बढ्ने प्रतिबद्धताका साथ गठबन्धनको सरकारमा रहँदा सरकारका अन्य कुनै पार्टीले प्रतिगामी कदम चालेमा हामी सडकबाट प्रतिगमनको विरुद्धमा आन्दोलन गर्ने बताए । उनले भने –‘सरकारमा जाँदैमा हाम्रो आन्दोलन सकिएको छैन, हिजो पनि हामी जनताका लागि सडकमै थियौँ र आज पनि त्यही छौँ ।’ 

गठबन्धन मिलेर प्रतिगमनलाई सत्ताबाट सडकमा ल्याउन सफल भएकाले आगामी निर्वाचनमा पनि एमालेलाई पत्ता साफ हुने गरी लाग्नु पर्ने वक्ताहरूले बताए । नेपाली काँग्रेसका नगर उपसभापति केबि गुरुङ, माओवादी केन्द्रका नगर उपाध्यक्ष गोबिन्द कटुवाल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष तुलसी ढकाल,जनता समाजवादी पार्टी, नेपालका प्रदेश अध्यक्ष प्रवीण चाम्लिङ, जसपा प्रदेश सचिव भरत दाहाल लगायतले शुभकामना दिएका थिए ।

दीपावली, बलिहाङ तङ्नाम, पार्वा, नेपाल सम्बत, छठ, ख्रीस्टमस, चासोक तङ्नामको अवसरमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम नगर पार्टी अध्यक्ष फिपराज बेघाको सभापतिमा भएको थियो ।