विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनलाई मङ्गलबार पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
राई मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रदेश सरकारमा चार मन्त्री र एकजना राज्यमन्त्री नियुक्त गरेका छन् । गठबन्धनमा सहमति भएअनुसार नेपाली काङ्ग्रेसले २, नेकपा (माओवादी केन्द्र) ले १, जनता समाजवादीले १ मन्त्री पाएका छन् । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई एउटा राज्यमन्त्री दिइएको छ ।
नेकपा (एमाले)बाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो । ४९ जना सांसद्को हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका राईलाई प्रदेश प्रमुख प्यासीले नियुक्त गरेका थिए ।
नयाँ मन्त्रीहरूमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, काङ्ग्रेसका सांसद् हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, काङ्ग्रेसकै केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरी सपथ ग्रहण गराइएको छ ।
आङ्बो यसअघि शेरधन राई नेतृत्वको सरकार हुँदा पनि आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद् विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् । नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्रीको रूपमा नियुक्त भएका आङ्बोबाहेक अन्य सबै नयाँ अनुहार छन् ।
नेकपाको सरकार हुँदा पनि आङ्बोले सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । आङ्बोले झण्डै ३ वर्षको अवधि आर्थिक मामिला तथा योजनामन्त्रीको रूपमा भूमिका निर्वाह गरेका थिए । उनी पाँचथरको निर्वाचन क्षेत्र नं. १ (२) बाट प्रत्यक्ष निर्वाचित सांसद् हुन् ।
यस्तै भौतिक पूर्वाधार मन्त्रालयमा नियुक्त भएका हिमाल कार्की काङ्ग्रेस संसदीय दलका उपनेता हुन् । उनी उदयपुरको क्षेत्र नम्बर १ (२) बाट निर्वाचित सांसद् हुन् । उनी पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकटका मानिन्छन् । मन्त्रीको रूपमा कार्कीले पहिलोपटक भूमिका निर्वाह गर्ने अवसर पाएका छन् ।
यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयमा नियुक्त भएका केदार कार्की काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् । उनी मोरङको निर्वाचन क्षेत्र नम्बर ६ (२) बाट निर्वाचित सांसद् हुन् ।
महेन्द्र मोरङ क्याम्पसको विद्यार्थी आन्दोलनबाट उदाएका कार्की काङ्ग्रेस नेता शेखर कोइराला निकट मानिन्छन् । मन्त्रीको रूपमा कार्कीले पनि पहिलोपटक भूमिका निर्वाह गर्ने अवसर पाएका हुन् ।
यसैगरी सामाजिक विकास मन्त्रीमा नियुक्त भएका जयराम यादव जनता समाजवादी पार्टी नेपाल प्रदेश १ संसदीय दलका नेता हुन् । मोरङ क्षेत्र नम्बर ५ (२) बाट प्रत्यक्ष निर्वाचित यादव स्थानीयस्तरमा लोकप्रिय मानिन्छन् । उनी मधेश आन्दोलनबाट उदाएका युवा नेता हुन् । उनी पहिलो संविधानसभा सदस्यसमेत हुन् ।
मन्त्रीको रूपमा यादवले पनि पहिलोपटक भूमिका निर्वाह गर्ने अवसर पाएका हुन् । यस्तै संयुक्त लोकतान्त्रिक मञ्चकी एक्लो सांसद् विष्णुमाया तुम्बाहाम्फे ताप्लेजुङ निवासी हुन् । उनी समानुपातिक तर्फबाट सांसद् बनेकी हुन् ।
पहिचान र लिम्बुवान राज्यको मुख्य एजेण्डा लिएर सङ्घर्ष गरिरहेको कुमार लिङ्देनले नेतृत्वको गरेको पार्टीको नेताको रूपमा पनि तुम्बाहाम्फेले परिचय बनाएकी छन् । मन्त्रीको रूपमा तुम्बाहाम्फेले पनि पहिलोपटक भूमिका निर्वाह गर्ने अवसर पाएकी हुन् ।