१. पृष्ठभूमिः
काग, कुकुर, गाई, गोरु तथा दाजुभाइलाई पूजा गरेर सबै प्राणीहरूलाई सम्मान गर्न सिकाउने, अँध्यारोबाट उज्यालोतिर लिएर जाने प्रकाशको उत्सव हो, ‘पाँच तिथिहरूको चाड यमपञ्चक अर्थात् उज्यालो तिहार ।

कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि कात्तिक शुक्लपक्ष द्वितीयासम्मलाई यमपञ्चक भनिन्छ । पाँचदिन लामो हुने र सबै दिन यमराजसँग सम्बन्धित भएकाले यो दिनलाई यमपञ्चक भनिएको हो । यमराज सूर्यपुत्र हुन् ।

यमराजकी बहिनी यमुनाको घरमा ५ दिन बसी दैनिक कार्यबाट छुट्टी लिएकाले मत्र्यलोकमा मानिस खासगरी बहुल देवतामा विश्वास गर्ने पूर्वीय चिन्तनमा यी पाँचदिनलाई कागतिहार, कुकुर तिहार, गाईतिहार, गोरुतिहार र भाइतिहार (भाइटीका) जस्ता नाम दिई पाँचदिनसम्म धुमधामले यो चाड मान्ने गर्दछन् । पौराणिक कथामा उल्लेख भएअनुसार यमराजले बहिनी यमुनालाई आजको दिनमा यम पूजा र दीपदान गरे युवावस्थाको असामयिक मृत्युयोगलाई रोक्न सकिने उपाय बताएका थिए ।

पुराण युगमा यसलाई धार्मिक चाडका रूपमा मनाइयो । वर्षा ऋतुपछि शरद ऋतुमा मनाइने यो चाड हो । ऋतुहरूमा शरद ऋतुको खुसीयालीमा मनाइने चाड हो । कालान्तरमा शाक्तहरूले नरका सुरबध, वैष्णवहरूले राम राज्याभिषेक, बौद्धहरूले बोध प्राप्ति, जैनहरूले निर्वाण र नेवारहरूले कात्तिक शुक्लपक्ष प्रतिपदाका दिन म्हपूजा र नववर्ष नेपाल सम्बत् मनाउँछन् ।

म्हपूजासँग यस प्रकाशपर्वले नाता जोडेकाले यसको महŒव झन्–झन् बढ्दै गएको छ । वैदिक सनातनदेखि हाम्रो धर्म संस्कृतिमा प्रत्येक शुभकार्यसँग धार्मिक कृत्यहरू दियो बालेर आरम्भ गरिने हुँदा यसको महŒव सर्वव्यापी रहेको छ । तिथि अनुसार यसवर्ष कात्तिक १७ देखि २० गतेसम्म परेको छ ।

२. धन्वन्तरी जयन्ती एवम् कागतिहारः
कात्तिक कृष्ण त्रयोदशीका दिन आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको जन्मजयन्ती पर्व हो । पौराणिक कथनअनुसार समुद्र मन्थनबाट प्रकट भएका हुन् । उनलाई भगवान विष्णुको अवतार मानिएको छ । त्यसैले यस दिनलाई परापूर्वकालदेखि समस्त मानिसहरूको दीर्घायु र सुस्वास्थ्यको कामना गर्ने पुण्य दिनका रूपमा लिइन्छ ।

हिन्दु दर्शनमा सम्पूर्ण जीवात्माहरूलाई प्रेम र सद्भाव गर्ने छुट्टाछुट्टै विधि भएकाले स्थावरदेखि पशु, पंक्षी, साना–ठूला सबै जीवलाई मित्रवत् व्यवहार गरिन्छ ।

यमराजको दुत प्रतीक कागले मानिसलाई शुभ, अशुभ शकुन बताउँछ भन्ने विश्वास गरिन्छ । घरवरिपरिको वातावरण सफा गरिदिने, काग बोलीमा छुच्चो प्राणीमा गनिने भए पनि हरेक बिहान खाना खानुअघि कागलाई खाना छुट्याउने हाम्रो परम्परा छ । यमराजले कागको रूप धारण गरी आप्mना भक्तहरूलाई जसले कागलाई पुज्दछ, त्यसका पूर्वजहरूलाई म सद्गति दिनेछु भनेको कथा प्रसिद्ध छ । त्यसैले तिहारको पहिलो दिन कागलाई विशेष खाना दिएर कागपूजा गरी सत्कार गर्ने चलन रहेको छ ।

३. कुकुर तिहारः
यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुर इमान्दार दयालु प्राणी हो । कुकुरलाई यमराजको दुतको रूपमा मानिन्छ । कुकुर तिहारको दिन कुकुरलाई तेल घसेर माला लगाई पूजा गर्दै विभिन्न मीठा खानेकुरा खान दिई कुकुर तिहार मनाइन्छ ।

युधिष्ठिरसँगै स्वर्ग गएको कुकुर जातिलाई आज पनि चोर अपराधीहरू पत्ता लगाउन प्रयोग गरिन्छ । कुकुरको सुँघ्ने शक्ति अर्थात् भक्तिभाव प्रकट गर्ने प्राचीन परम्परा रहि आएको छ । कुकुरको घ्राणशक्ति निकै तीव्र हुन्छ । भगवान श्रीकृष्णले यसै दिन नरकासुरलाई मारेकाले कुकुर तिहारको यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

४. गाई तिहार र लक्ष्मीपूजाः
यमपञ्चकको तेस्रो दिन बिहान गाईतिहार हो । गाईको गोबर र गोमूत्रमा समेत लक्ष्मीको निवास मानिन्छ । अतः गाई तिहारको दिन बिहान गाईको पूजा गरिन्छ र बेलुकी लक्ष्मीपूजा गरी दीपावली मनाइन्छ ।

शास्त्रहरूमा वर्णन भएअनुसार गोसेवाबाट मात्र लक्ष्मी अर्थात् धनधान्य प्राप्ति हुन्छ भनिएको छ । गाई नै लक्ष्मीको रूप भएकाले गाई तिहारमा लक्ष्मीपूजा पनि गरिन्छ । घरबाहिर देखि गोबरले लिपेर लक्ष्मीका पाइला बनाएर पूजाकोठा, धनसारसम्म लगिन्छ र पूजा गरिन्छ । समृद्धिको चाहना, खुसी, हर्ष, ऐश्वर्य शान्ति, अमनचयन चाहनेले लक्ष्मीपूजाका दिन विशेष धनको पूजा, कुवेरको पूजा गर्ने गर्छन् । यो दिन विशेषगरी धनधान्यकी प्रतीक लक्ष्मी वर्षा गराउन लक्ष्मी पूजाका दिन जताततै देवीलाई आकर्षक रूपमा सजाइएको हुन्छ । यस रात्रीलाई सुखरात्रि पनि भनिन्छ । हिन्दु दर्शनमा गाई, गङ्गा, गीता, गायत्री र गणेशलाई विशेष शुभदायक मानिन्छ ।

५. गोवद्र्धन पूजा, म्हःपूजा र नेपाल सम्बत्ः
यमपञ्चकको चौथो दिनलाई गोवद्र्धन पूजा, गोरु तिहार भनिन्छ । यसदिन तराई क्षेत्रमा यातायात र ढुवानीको मुख्य साधन नै वयलगाडा रहेको छ भने कृषि उत्पादनमा मानिसले गोरुलाई जोत्नका लागि उपयोग गर्ने मात्र होइन, उसको गोवरलाई समेत मलखादका रूपमा प्रयोग गर्ने गर्दछन् ।

कृषि कार्यमा सरिक पशुहरूलाई सम्मान गर्ने, यस पर्वमा बिहान फूलमाला, शृङ्गार सहित पूजाआजा, धुप, बत्ती, नैवेद्य अर्पण गरी विशेष खाना खुवाउने चलन छ । तराईमा गाई, गोरुको गोवर जम्मा गरी गोवद्र्धन पहाड बनाई गोवद्र्धन पूजा गरिन्छ । पर्यायवरण, संरक्षण गर्न पर्वहरूको महत्वपूर्ण भूमिका भएको हुँदा हाम्रो धर्म संस्कृतिमा पर्वतलाई पूजनीय मानिन्छ ।

कात्तिक शुक्ल प्रतिपदाको अर्को रोचक पक्ष हो, म्हःपूजा । यो प्रायः नेवार समुदायमा लोकप्रिय छ । संसारको सबैभन्दा बहुमूल्य वस्तु आत्मा हो । यो स्वस्थ स्वच्छ तथा पवित्र भएमा मानिसहरूलाई कुनै प्रकारको दुःख हुने छैन । आत्मा सन्तुष्ट भएमा देवताहरू पनि प्रसन्न हुन्छन् एवम् सम्पूर्ण कार्य पूर्ण सफल हुन्छ भन्ने विश्वास गरिन्छ । म्हःपूजा भनेको आत्माको पूजा होइन, आत्मा पूजा हो । आत्मा भन्नाले आफूलाई जनाउँछ, आफू भन्नाले शरीरलाई बुझाउँछ ।

म्हःपूजा धार्मिकभन्दा प्राकृतिक, भौतिक र मनोवैज्ञानिक रूपले बढी महत्वपूर्ण हुन् । शुद्ध चित्त शाक्य र कर्मको भावना वृद्धि गरी आफ्नो, आफन्त र घरको सुखशान्ति एवम् समृद्धिको कामनाको उद्देश्यले म्हःपूजा गरिएको हो ।

यसरी सत्यता यथार्थता र वास्तविकताको संसार बोकेको म्हःपूजाले नेवार जातिलाई संसारको एउटा सभ्य जाति हो भन्ने मान्यता दिलाएको छ । म्हःपूजाको मान्यता लिच्छवी कालदेखि चल्दै आएको मान्यता रहेको छ ।

यस दिनको अर्को विशेषता हो, नेपाल सम्बत्को आरम्भ । शङ्खधर साख्वाः नामका एक सर्वसाधारण नेपालीको भरमग्दुर प्रयासबाट नेपाल राष्टूका नाममा रहेको नेपाल सम्बत् स्वदेश भूमिमा स्थापित भई नेपाल सम्बत्लाई आधार मानी सम्पूर्ण कार्य गर्ने गर्छन् । कात्तिक शुक्ल प्रतिपदा म्हःपूजाको दिनदेखि यसवर्ष नेपाल सम्बत् ११४२ नववर्षमा प्रवेश गर्दछ ।  म्हःपूजा वा स्वदेह आत्मपूजा र नववर्ष नेपाल सम्बत्बीच कुनै तरहको ताŒिवक अन्तर सम्बन्ध छैन । नेवार प्रचलनअनुसार स्वन्ती (तिहार) का दिनहरू सूर्योदयको बेलामा जुन तिथि हुन्छ, सो तिथि दिनभर कायम हुन्छ । कुनै दिन दुईवटा तिथि पर्न गएको खण्डमा लाग्दो तिथिको आधारमा चाड मनाइन्छ ।
६. भाइ टीका (तिहार):
यमपञ्चकको सर्वाधिक महत्वपूर्ण चाड हो भाइ टीका (तिहार) । कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि कागतिहार आरम्भ भएको ५ दिन लामोपर्व कात्तिक शुक्लपक्ष द्वितीयाका दिन घरघरमा दिदीबहिनीहरूले नवग्रह, अष्टचिरञ्जीवी यमराज, यमुना लक्ष्मी एवम् आप्mना दाजुभाइलाई पूजा गरी तिहारको उत्कर्षणलाई बिदा गर्छन् ।

शास्त्रीय प्रमाणः
द्वापर युगमा कात्तिक शुक्ल द्वितीया तिथिमा दाजु यमराज बहिनी यमुनाको घरमा आउनुभएको हुँदा बहिनी यमुनाले दाजु यमराजलाई पूजा गरी ठूलो सत्कार गरेकी थिइन् र सो बापत यमराजले पनि दुईवटा वरदान दिएका थिए । सोही अनुरूप उक्त दिन दाजुभाइलाई पूजा गरेमा दिदीबहिनीले वैद्यव्य स्थिति भोग्नु पर्दैन र दाजुभाइको आयु पनि क्षय नहोस् अर्थात् अकाल मृत्यु नहोस् ।

यमद्वितीयाको दिन मध्यान्ह वा अपराह्न कालमा यमराजको पूजा गर्ने शास्त्रीय वचनानुसार भातृपूजा अर्थात् दाजुभाइको पूजा मध्यान्ह वा अपरान्ह समयमा द्वितीया तिथिमा पूजाको थालनी गरेपछि भाइटीकाको सुरुवात भयो र यो दिन यमद्वितीया नामबाट कालान्तरमा प्रसिद्ध हुन गयो ।

यसरी पाँचदिनसम्म सम्पूर्ण जीवनजगत् र मृत्युजगत्का नरनारी, पशुपंक्षी, वन, पर्वत, मृत्यु देवता आदिलाई वनस्पतिजगत्का फूलमाला आदिबाट पूजाआजा गरी देउसीभैलो तथा रोटेपिङ लिङ्गेपिङ खेली एवम् सेलरोटी र फलफूल, मिठाई खाई खुवाई औंसीको अँध्यारोमा झिलीमिली बत्ती बालेर मनाइने यमपञ्चक तिहार नेपालीहरूको रसिलो, मौलिक सामाजिक चाड हुन गयो ।
(कर्माचार्य धरानका विभिन्न तथ्याङ्क खोजमूलक स्तम्भकार हुन् ।)