धरान । बडादशैंअन्तर्गत आज नवौं दिन अर्थात् महानवमी । आज दुर्गा माताको नवौं शक्ति स्वरूपा माता सिद्धिधात्रीको विशेष पूजाआरधना गरिन्छ । धन्यधान्यकी देवी महालक्ष्मी देवीको पनि पूजा गरिने गरिन्छ । 

शक्तिस्वरूपा सिद्धिधात्रीको पूजा गर्नाले संसार जित्न सकिने र सिद्धता हासिल हुने मान्यता रहेको छ । देवीपुराणमा यिनै देवीको कृपाका कारण शिवजीले सिद्ध प्राप्त गरेको उल्लेख छ । सिंहको बाहनमा विराजमान यी देवीको प्रिय वस्तु कमलको फूल हो । यिनको साधना गर्नाले यस लोक र परलोक दुवैमा मोक्ष प्राप्त गर्ने विश्वास छ ।

आजका दिन निर्माण र शिल्पकलाका देवता विश्वकर्माको पूजा पनि गरिन्छ । आजका दिनमा इन्जिनहरू, गाडी, कारखाना आदिमा बलि चढाइन्छ । शक्तिस्वरूपा देवीहरूले असूरहरूलाई खोजी–खोजी संहार गरेपछि बाँचेका असूरहरू जनावरका रूपमा भेष बदलेर लुकेका कारण जनावरका भेषका असूरहरूको बलि चढाउने किंवदन्ती रहेको छ । 

नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यालयलगायतमा कलपुर्जा, हतियार र गाडीहरूको विशेष पूजा गर्ने प्रचलन छ । दशेभिरका शक्तिपीठहरूमा पनि दर्शनार्थीको घुँइचो हुने गरेको छ । बोका, हाँस, कुखुरा र राँगाको बलिसहित पूजाअर्चना गरिन्छ । आजका दिन विश्व दृष्टि दिवस पनि मनाइन्छ ।