इनरुवा । पशुबली रोक्नु पर्ने मागसहित इनरुवामा शान्ति र्याली निकालिएको छ ।  पूर्णब्रह्म कबिर उपासक समाज सुनसरीले चाडपर्वमा हुने पशुबलि रोक्नु पर्ने माग गर्दै शान्ति र्याली निकालेको हो ।

समाजले पशुबली रोक्न दवाब सृजना गर्ने उद्येश्यले र्याली आयोजना गरिएको जनाएको छ ।  आध्यात्मिक शान्ति र्याली निकालेको समाजले हिंसा अन्त्यको माग गरेको छ । पशुबलि मानवताको पक्षमा नभएकाले रोकिनु पर्ने आफुहरुको प्रमुख माग रहेको कार्यक्रम संयोजक गोविन्द पोखरेलले बताए ।

पोखरेलका अनुसार शान्ति र्यालीमा सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, भोजपुर, संखुवासभासहित प्रदेश १ का विभिन्न जिल्लाबाट आएका सहभागिहरुको उपस्थिति रहेको थियो ।

सहभागिहरु इनरुवामा आयोजित औपचारिक कार्यक्रममा भेला भएका थिए । उनीहरुको सहभागिहरुको वृहत शान्ति र्याली निकालिएको पोखरेलले बताए । र्यालीमा सहभागिहरुले सन्देशमूलक प्ले कार्डहरु बोकेका थिए । र्यालीले बजार क्षेत्रको परिक्रमा गरेको थियो । 

यसैबिच समाजले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । कार्यक्रममा २८ जनाले रक्तदान गरेको पूर्णब्रह्म कबिर उपासक समाज सुनसरीले जनाएको छ ।