विजयपुर/ नेपालीहरूको महान् चाड बडा दशैं आज(बिहीबार) बाट सुरु भएको छ ।

आज घटस्थापना अर्थात् दशैंको पहिलो दिन विभिन्न शक्तिपीठ तथा घर–घरमा जमरा राखेर मनाइँदैछ । घटस्थापनामा पूजा आराधना गरी जमरा राखिन्छ । घटस्थापना नवरात्रको पहिलो दिन हो ।

घटस्थापनामा शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । घटस्थापनामा दशैंघर वा घर–घरका पूजा कोठामा मकै, गहुँ, जौ आदि अन्नको वीज छरेर मनाइन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ । घटस्थापनाको शुभ साइत ११ बजेर ४६ मिनेटमा रहेको छ ।

प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदादेखि सुरु हुने दशैं घर–घरमा जमरा भिœयाएसँगै सुरु हुने गर्छ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ ।

घर शुद्ध भएपछि मात्र देवीको आगमन हुने मान्यतासँगै आज बिहानैबाट नुहाएर घर सफा गरेर गाईको गोबरले  लिपपोत गरी शुद्ध बनाएर सजाउने गरिन्छ । यो प्रक्रियापश्चात् नवरात्रि सुरु भएको मानिन्छ ।