पथरीशनिश्चरे । पूर्वका पुराना मात्र नभएर अगुवा लोक दोहोरी गायक शिव नेपालको अगुवाईमा पुरुष समूहले महिलातर्फको सकुन्तला कार्कीको समूहलाई दोहोरीमा मोरङको पथरी शनिश्चरे नगर क्षेत्र भित्रको हालखबर सोधे ।

सँगै रहेकी पथरीशनिश्चरे नगर उपप्रमुख यमुना बिष्ट वास्तोलाको मुखमा कान पुर्याएर सकुन्तलाले जानकारी लिन्थिन् र त्यसलाई तुकबन्दी र अन्त्यानुप्रास मिलाएर दोहोरीमा जवाफ दिन्थिन् । नजिकै रहेका साहित्यकार कलाकार समेत रहेका नगरका सूचना सम्पादक भूपेन्द्रराज तिम्सिनाले त्यसमा उप्रमुखलाई थप सहयोग पुर्याउँथे ।

शिवले सुरुमा सोधे ‘जनताले खै के के भन्या छ, बाटो घाटो कत्तिको बन्या छ ? कालीपारी दाई, कालीपारी दाई मेरो मायालाई नविर्सनु है ।’ जवाफमा सकुन्तलाले भनिन् ‘गाउँघरमा छ ध्यान गाको देखेनौ र मुलबाटो पिच भाको, कालीपारी दाई, कालीपारी दाई मेरो मायालाई नविर्सनु है ।’ । फेरि प्रश्न आयो ‘चुनावपछि कत्तिको गन्छन्, ज्येष्ठ नागरिक अहिले चै के भन्छन् ?’

उस्तै चोटिलो जवाफ फर्कियो ‘बा आमाले भन्दैनन् दुःख छ, बृद्ध भत्ता बढेर सुख छ ।’ अर्काे जवाफ ‘दिदीको नै पर्या छन् भरमा, नारी पिडीत हुँदैनन् कोहि घरमा’  । ‘विजुली नि कत्तिको बल्या छ, खानेपानी कसरी चल्या छ ? समसामयिक जवाफ यस्तो थियो  ‘गाउँघर सुधार्ने बानी छ, यही भूल्केको घर घरमा पानी छ ।’ ‘उनैको भरमा वत्ती पानी पुग्या छ घर घरमा ।‘ शिवको उसैगरी प्रश्न आयो ‘केटाकेटी कत्तिको खेल्या छन्, नारी पुरुष कसरी मिल्या छन् ?

प्रदेशकै सवैभन्दा बढी उजुरी मेलमिलाप गराउने नगरपालिकाका रुपमा नाम राखेको नगरकोतर्फबाट जस्तो जवाफ थियो ‘उनलाई सवले मन पराउछन्, नमिल्नेलाई मेलमिलाप गराउँछन्’ ।  यी र यस्ता जुहारीले नगरको समसामयिक सन्दर्भ मात्र होइन स्थानीय विकास निर्माणका विषयहरु समेत चित्रण हुँदा जुहारी झनै स्थानीयस्तरको यथार्थ बन्न पुगेको छ । अर्थात मायाप्रेमको मात्र नभई विकास निर्माण सहितका जनप्रतिनिधिले गरेका गतिविधिलाई समेत जुहारीले चित्रण गर्न सक्दो रहेछ भन्ने कुरा चरितार्थ पारेको छ ।

  ‘जुहारी’ अथवा ‘दोहोरी’ । पूर्वमा खेलिने जुहारी अहिले लोपोन्मुख जस्तो वनेको अवस्थामा समाज रुपान्तरण मिडिया हाउसमार्फतको समाज रुपान्तर टीभीले आफुले पथरीशनिश्चरेमा उत्पादन गरेको कार्यक्रमको यो झलकले जुहारीको संरक्षण र कलाकारको सम्मान, प्रोत्साहनमा टेवा पुर्याउने लक्ष्य बनाएको छ ।

वन तथा सिमसारयुक्त पर्यटनको प्रचुर सम्भावना बोकेको र त्यसको पवद्र्धनका गतिविधि समेत अघि बढेको नगरको केहि चित्रण समेत जुहारीमा आउँदा गीत संगीतले पर्यटन प्रवद्र्धनमा पनि सघाउने काम गरेको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अनुभूति रह्यो । उनले भनिन् ‘लोप हुन लागेको जुहारी शब्द र यसको मौलिकताको संरक्षण गर्दै स्थानीय गतिविधिलाई समेत समेटेर प्राकृतिक सुन्दरताले भरिपूर्व नगरको विषयमा जुहारी कार्यक्रम बन्दा निकै खुसी लागेको छ ।’

  कलाप्रेमी अभिषेक वान्तवा राई र वर्षा राईले पूर्वेली लोक जुहारी कार्यक्रम अघि बढाएका हुन् । पथरीशनिश्चरेको होटल साल्पामा सुटिङ गरी हालसम्म ५ भाग प्रसारण भइसकेको छ । जुहारीमा शिव नेपालका साथै सवैभन्दा ज्येष्ठ ६८ वर्षीय भीमप्रसाद न्यौपाने सहितको टोली जुटेको छ ।

मोरङ, झापा, सुनसरी, उदयपुर, तेह्रथुम, भोजपुरसम्मका कलाकारहरु यसमा समेटिएका छन् । जसमा, टंक घिसिङ, हेमराज लामिछाने, नविन विष्ट, सकुन्तला कार्की, वर्षा राई, कृष्णा मगर, नेरुता मगर, इन्दिरा भट्टराई सहित सहभागि छन् ।

वाद्यवादनमा, राम विष्ट, जेवी रसाइली, सन्तोष रसाइली, , मदन लिम्बू, सुवास रसाइली सहितले साथ दिएका छन् । जुहारी कार्यक्रम प्रवद्र्धनका लागि देश विदेशबाट समेत आर्थिक सहयोग प्राप्त भएको छ ।