महिला भएकै कारण भोग्नुपर्ने विभेद, अन्याय तथा अन्य शारीरिक, मानसिक तथा मनोवैज्ञानिक आघात नै महिला हिंसा हो । कतिपय हिंसाहरू त यस्ता छन्, जुन पीडितले आफूमाथि हिंसा भइरहेको छ भन्नेसमेत भेउ पाएका हुँदैनन् । एक व्यक्तिले अर्को व्यक्तिलाई दिने यातना, पीडा, दुःख र अपमानलाई पनि हिंसा भनिन्छ । यो शारीरिक, मानसिक, आर्थिक, यौनजन्य वा जुनसुकै रूपमा पनि हुन सक्दछ । शारीरिक रूपमा कुटपिट गर्ने, डर धम्की देखाउने, मानसिक रूपमा अपमान, गालीगलौज गरी गैरकानूनी रूपमा नजरबन्द गर्ने वा थुनामा राख्नेजस्ता कार्यहरू हिंसाका रूपहरू हुन् । त्यस्तै यसका साथै यौनजन्य प्राकृतिक दुव्र्यवहार, वैवाहिक बलात्कार, बलात्कार, चेलीबेटी बेचबिखन, जबरजस्ती यौन व्यवसायमा संलग्न गराउने, देउकी, छाउपडी, बादी, यौन सन्तुष्टिका लागि गरिने गलत क्रियाकलापहरू सबै महिला हिंसाजन्य क्रियाकलाप भित्र पर्दछन् ।  

नेपालमा महिलामाथि अन्याय परापूर्व कालदेखि नै हुँदै आएको पाइन्छ । हाम्रो हिन्दु धर्म संस्कृति, रीतिरिवाज, सामाजिक विधि व्यवहारमा पनि महिलाहरूलाई पछाडि नै पारेको देखिन्छ । पितृसत्तात्मक सोचका कारण घरपरिवार अधिकारबाट नै महिला भन्नासाथ नकारात्मक दृष्टिकोणले हेर्ने चलन छँदैछ । आर्थिक पहुँचमा शिक्षा, रोजगार र चेतनामा पछि परेका कारण महिलाहरू हेपिँदै आएका छन् । नेपालको संविधान २०७२ मा  महिलाहरूको हक सम्बन्धी व्यवस्था गरिएको छ । जस अन्तर्गत महिला भएकै कारण कुनै किसिमको भेदभाव गरिने छैन, प्रत्येक महिलाहरूलाई स्वाभिमानी भई, स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार उल्लेख गरिएको छ । त्यस्तै कुनै पनि पुरुषले महिला विरुद्ध शारीरिक, मानसिक, यौनजन्य र अन्य कुनै पनि हिंसाजन्य कार्यहरू गरिने छैन, त्यस्ता कार्यहरू भएमा सम्मानित अदालतद्वारा कानूनबमोजिम दण्डनीय हुनेछ भनी उल्लेख गरिएको छ ।                 

प्रत्येक महिलाहरूमा प्रजनन् स्वास्थ्यसम्बन्धी हक अधिकार हुनेछ भनी उल््लेख गरिए पनि महिलामाथि हुने हिंसा बढिरहेको देखिन्छ । महिला हिंसासम्बन्धी अन्तर्राष्ट्रिय अनुसन्धानअनुसार बनाइएको सदस्य राष्ट्रको हैसियतमा बनाइएको कानून भए तापनि कानून कार्यान्वयन प्रक्रिया निकै फितलो छ । अझ दुःखको कुरा के छ भने महिलाहरू आफ्नै घरपरिवारबाट सबै भन्दा बढी हिंसाको शिकार बनेका छन् । यस्ता घटनाहरू अज्ञानताका कारण बारम्बार दोहोरिने गरेको पाइन्छ । जसमध्ये बलात्कार पनि ज्वलन्त समस्या र जघन्य अपराधका रूपमा देखा परेको छ ।

कतिपय महिलाहरू आफ्नै श्रीमान्बाट बलात्कृत भइरहेका छन् । तर, ती अधिकांश घटनाहरू गुपचुपमै रहन्छन् । त्यसैगरी तराईमधेशमा दाइजोको कारण पनि थुप्रै महिलाहरूले शारीरिक, मानसिक यातना मात्र बेहोर्नुपरेको छैन, कतिपयले त अकालमै मृत्युवरणसमेत गर्नुपरेको दर्दनाक अवस्था छ । त्यसैगरी ग्रामीणभेगमा बोक्सीको आरोपमा पनि महिलामाथि दुव्र्यवहार हुने गरेको छ । अझ एसिड आक्रमण त झन् दिन प्रतिदिन बढिरहेको छ । नारीवर्गमाथि भेदभाव, शोषण र अन्यायअत्याचार हाम्रो समाजमा व्याप्त छ । महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन भेदभाव पूर्णरूपमै निर्मूल हुनुपर्छ ।

कथित तल्लो जात तथा एकल महिलालाई बोक्सीको आरोप लगाएर अनेक प्रकारका यातना दिई मलमूत्र खुवाउने, जिउँदै आगो लगाउनेसम्मका अति निकृष्ट क्रियाकलाप पनि हाम्रै गाउँ समाजमा भइरहेका छन् । छोराछोरी जन्मिने प्रक्रिया र त्यसको निर्धारण पुरुषको क्रोमोजोममा भर पर्ने भए तापनि छोरा नजन्माएको भनेर महिलाहरूले अनेक प्रकारको हिंसा सहनु परेको छ ।   

हाम्रो देश नेपालमा पुरुषप्रधान संस्कारको अवशेष अझै बाँकी रहेकाले शिक्षित भनिएका पुरुषहरू पनि महिलामाथि हिंसा थोपरिरहेका छन् । चेतनशील महिला पनि कुनै न कुनै तरिकाबाट विभेदको शिकार हुनुपरेको छ । कुनै न कुनै किसिमले श्रीमतीभन्दा श्रीमान् श्रेष्ठ भन्ने दिमागका भित्तामा टाँसिएर बसेको हुँदा महिला हरू पीडित बन्नुपरेको छ । अधिकांश पुरुषहरूमा शोषक मनोवृत्तिको सांस्कृतिक विरासत पनि छ । घरपरिवार मात्र होइन, सार्वजनिक स्थल तथा कार्यालयमा समेत महिलाहरू असुरक्षित छन् । अहिले बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरूले विकृत रूप लिइरहेको देखिन्छ ।

घर, कार्यस्थल, विद्यालय, बाटोघाटो, मेलापात, सार्वजनिक यातायात सबैतिर महिलाले आफूलाई असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अझ झन् पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगले महिला हिंसालाई बढावा दिएको छ । पीडित महिलाको उजुरीका आधारमा यस्ता घटनाहरू बाहिर आउने गर्दछन् । जसमा कतिपय अपराधीहरू फेला नै पर्दैनन् र पक्राउ परेकाले पनि फितलो कानूनका कारण छिट्टै उन्मुक्ति पाउँछन् । यसले गर्दा पनि अपराधीको मनोबल बढेको देखिन्छ र यस्ता घटना बारम्बार दोहोरिने गर्छन् । महिला हिंसा रोक्न राज्य र सरोकारवाला सबै पक्ष गम्भीर बन्नुपर्ने अवस्था आएको छ ।                 

नेपाली महिलाहरूको हिंसा सहने बानी, पारिवारिक तथा सामाजिक डरले दूषित क्रियाकलापहरू अझ बढ्दै गएका छन् । नेपाली समाजमा पुरुषहरू सधैँ उच्च स्थानमा रहने र महिलाहरूको परिश्रम, कामको संवेदनशीलता र प्रजनन् स्वास्थ्यको उत्पादनमूलक भूमिका स्वीकार गर्न नसक्दा महिला यौन चाहना पूरा गराउने, घरको काममा सहयोग गर्ने, निःशुल्क सहयोगीको रूपमा हेर्ने परम्परा कायम नै छ । वैदेशिक रोजगारमा जाने महिलाहरू पनि विभिन्न प्रकारका पीडा सहन बाध्य भएका र हिंसालाई सामान्य रूपमा लिने प्रचलनले हिंसा झन् बढ्न गइरहेको छ । युवा रोजगारको व्यवस्था नहुनु र पुरुषहरू वैदेशिक रोजगारमा जाँदा घरमा महिलाहरू विभन्न प्रकारका हिंसामा परेको अवस्थाहरू ज्यादै पीडादायक र मन भाबुक बनाउने खालका छन् ।      

नेपालको संविधान २०७२ को प्रस्तावनामा नै लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुत अन्त्य गरी समानुपातिक, समावेशी, सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ । यस्तै महिलाविरुद्ध सामाजिक, सांस्कृतिक, शारीरिक, यौनजन्य हिंसा नगरिने उल्लेख छ तर, यसको कार्यान्वयन भएको छैन । अहिलेसम्म बलात्कार घटनामा पीडितको प्रमाण नष्ट गर्ने, यथेष्ट प्रमाण जुटाउन नसकिएको देखिएको छ । जसले गर्दा दोषीलाई सजाय दिलाउन अप्ठ्यारो परेको देखिन्छ । त्यसैले अनुसन्धान प्रक्रियामा सुधार गरिनु जरुरी छ । महिला आफूमा नै कसरी सुरक्षित रहने भन्ने चेतना जागृत भएन भने हिंसाको घटना भइरहन्छन् । त्यसैले महिलालाई आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक सबै क्षेत्रमा सशक्तिकरण गर्न जरुरी छ ।                                  

हिंसाकै कारणले महिलाका सुनौला सपनाहरू मासिएका छन्, उजाडिएका छन् । हजारौं आमाको काख रित्तिएको छ । आखिर किन राज्य यसरी निरीह बन्दै छ ? के महिला सधैँ यसैगरी सबैको सिकार हुने हो ? खोइ, कहाँ सुरक्षित छन् महिला ? विद्यालय पुगेकी छोरी बेलुका घर फर्कन्छे कि फर्किन्न थाहा छैन, कहाँ कतिखेर आमा बाबाले आफ्नी छोरीको लागि देखेका सपना चकनाचुर हुन्छ थाहै छैन । कति बेला आमाबाबुको काख खोसिन्छ त्यो पनि थाहै छैन ।  कुनै पनि हिंसात्मक क्रियाकलापले परिवार, समाज र विकासमा प्रत्यक्ष असर पार्ने भएकोले हिंसा अन्त्यका लागि हामी सबै एकजुट हुन आवश्यक छ । देशमा कानून बनाएर मात्रै हुँदैन, कार्यान्वयन पक्ष पनि बलियो हुनुपर्दछ । कानून सबै नागरिकका लागि समान हुनुपर्दछ । भनसुन र पैसामा बिक्ने खालको हुनु हुँदैन ।

महिला हिंसा र अपमान गर्ने, यौन दुराचार गर्नेहरूलाई कडाभन्दा कडा सजायको व्यवस्था गरिनुपर्दछ । समाजमा प्रत्यक्ष असर पार्ने सञ्चार माध्यमहरू, सामाजिक सञ्जाल, गीत, नृत्य आदि सेन्सर गरेर मात्र प्रदर्शन गर्न दिनुपर्छ । गाउँ समाजमा विकृति ल्याउने किसिमका भिडियो, चलचित्रहरू प्रतिबन्ध गरिनुपर्दछ । आधुनिकताका नाममा पश्चिमा मुलुकबाट भित्रिएको अर्धनग्न फेसन यौनव्यवहार आदि नेपाल सरकारले नियन्त्रण गर्नुपर्दछ । मदिराजन्य पदार्थहरू र लागूपदार्थ सेवनका कारण अधिकांश हिंसाजन्य घटनाहरू घटेको देखिएकोले यस्ता पदार्थ विरुद्ध जनचेतना फैलाउने र बिक्री वितरणमा सरकारी निकायबाट नै प्रतिबन्ध गरिनु पर्दछ । सामाजिक सांस्कृतिक धार्मिक अन्धविश्वासी परम्पराका कारण छाउपडी, बोक्सी, देउकी, बालविवाह आदि भएर महिलाहरूले खपिरहनुपरेका यस्ता विकृति हरू आजकै मितिबाट अन्त्य गर्न आवश्यक छ ।     

हामी हाम्रो परम्परा सभ्यतासँग जोडिएको मातृत्वको भावलाई त्यागेर पनि महिलाहरूले दुःख पाउने काम भएको छ । त्यसैमा अहिलेका महिलावादी अधिकार्मीहरूले छाडा संस्कारको विकास गराउने तर, महिलालाई कर्तव्यबोधको अध्ययन अध्यापन नगराउने भूईंफुटवादी अधिकारकर्मीहरूले महिला अधिकार दिने होइनन् कि छाडा बनाउने काम मात्र गर्नेछन् भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी छ । जे होस् हिमवत् खण्डका सम्पूर्ण मानव समुदायहरूले नारीहरूलाई दैवी शक्तिको रूपमा लिने गरेकोले नेपालमा नारीहरूलाई सम्मान र इज्जत छ । यसका उदाहरणका रूपमा नेपालका हरेक ठाउँमा स्थापित देवीका मन्दिरहरूलाई लिन सकिन्छ ।                

तीनै तहका सरकारले समाजमा यस्ता आपराधिक घटना हुन नदिन र जनताको जीवन रक्षाको जिम्मा लिनुपर्दछ तर, यहाँ कतिपय जिल्लाका स्थानीय जनप्रतिनिधिको रोहवरमा बलात्कारजस्ता जघन्य अपराधको मिलापत्रसमेत गरेको देखिन्छ । यस्तै कतिपय ठाउँमा प्रहरीद्वारा नै महिलाहरू बलात्कृत भएका छन् । त्यसैले राज्यको उपस्थिति विना यौनजन्य हिंसाको न्यूनीकरण हुँदैन । महिला हिंसा न्यूनीकरण गर्न परिवार र समाजको उत्तिकै दायित्व हुन्छ । जबसम्म सिङ्गो परिवार र समाज यस्ता आपराधिक घटनाविरुद्ध सजग, सचेत र आन्दोलित हुँदैन्, तबसम्म यस्ता घटना न्यूनीकरण गर्न कुनै पनि हालतमा सम्भव छैन । वैदेशिक रोजगारको अन्त्य गरी देशमा रोजगारको व्यवस्था गर्न, सरकारी नीति निर्माण तहमा महिला प्रतिनिधित्वको व्यवस्था गर्ने प्रत्येक परिवारमा महिलाहरुलाई सम्मानजनक व्यवहार गर्न सिकाउने किसिमका नैतिक शिक्षा दिने र अनुशासन सिकाउन सकेमा यस्ता समस्याहरू कम गराउन सकिन्छ ।

त्यसैले नेपाल सरकारले हिंसा अन्त्यका लागि  अनुशासित समाज निर्माण गराउनु पर्दछ भने प्रत्येक महिलाहरूको आफ्नो हकअधिकार र कर्तव्य के हो ? कसरी हिंसाजन्य क्रियाकलापबाट जोगिन सकिन्छ भन्ने बारे शिक्षित, चेतनशील, सभ्य र अनुशासित हुनु आवश्यक छ । महिलाहरूलाई सम्मान गर्न सबै नागरिकले  सिक्नुपर्छ । महिला र पुरुष यही समाजका उपज हुन् । यही समाजबाट नै महिलामाथि हिंसा भइरहेको छ । यौनजन्य अपराध, हत्या हिंसा, दाइजोप्रथा, बालविवाह आदि विरुद्ध पुरुषकै नेतृत्वमा जनचेतना अभियान सञ्चालन गर्न सकियो भने महिला हिंसालाई न्यूनीकरण गर्न सकिन्छ । आशा गरौं, अहिले बनेको नयाँ सरकारले महिला हिंसा अन्त्यका लागि नयाँ वातावरण सिर्जना गर्न सकोस् ।     
(लेखक निरौलाः इटहरी नमुना कलेजमा आमसञ्चार तथा पत्रकारिता दोस्रो वर्षमा अध्ययनरत छन् ।)