राज्यविस्तार अभियानका क्रममा गोरखाली फौज पूर्वतिर बढ्दा पहाडतिरबाट रामकृष्ण कुँवर र अमरसिंह थापा तथा तराई खण्डमा अभिमानसिंह बस्नेत र पारथ भण्डारी लगायतका सैन्य अधिकारीहरू खटिएका थिए । १८३१ साउनमा अभिमानसिंह बस्नेतहरूले लिम्बूहरूलाई सेनकालीन अधिकारलाई निरन्तरता दिने प्रतिज्ञा गरेर मोहर दिएपछि केही लिम्बू सुब्बाहरू गोरखासँग मिल्न पुगे । तर, कतिपय लिम्बू सुब्बाहरू गोरखासँगको सन्धि–सम्झौताप्रति असन्तुष्ट थिए । उनीहरू लामै समय गोरखालीहरूसँग लड्दै–भिड्दै रहे ।

त्यसबेला १० लिम्बू, १७ थुममा र १२ जना नामी सुब्बाहरू थिए । तीमध्ये फेदापको आतहाङको नेतृत्वमा तम्बरखोलाको शुभवन्त राय, मैवाखोलाका श्रीदेव राय र मेवाखोलाका रैनसिंह राय गोरखासँग मिले । आठराईका श्रीजङ्ग राय, पाँचथरका फुङ (कुम) राय र चौबिसका जमुन रायलाई पनि लालमोहर दिएर पृथ्वीनारायण शाहले उनीहरूसँग सम्झौता गरे । चैनपुरमा घमासान युद्ध हुँदा त्यहाँ सुब्बा हार खाई सिक्किमतिर पसे । यता गोरखालीसँग नमिल्ने छथरका सुनुहाङ राय, याङरोकका योङ्याहाङ राय र चारखोलाका आसदेव राय आ–आफ्नो गढमा बसी लड्दै रहे । तर, हातहतियारको अभावले उनीहरूले हार स्वीकार गर्नुप¥यो । आफ्नो देश छाडी सिक्किम पसे तापनि शत्रु सेनासित लड्न उनीहरूले छाडेनन् (इमानसिंह चेम्जोङ, किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’ (२०५९): ४५–४६) ।

पल्लो किरात लिम्बुवान गोरखा राज्यमा गाभिनुअघि विजयपुरका सेनहरूलाई लिम्बूहरूले राजा त मान्थे तर, सेन राजाहरूको राजनीतिक अधिकार आदर्शको रूपमा मात्र कायम थियो । स्थानीय सामन्तको रूपमा पहिलेदेखि नै पुस्तौनी रूपमा कार्यरत किरात दिवान राय तथा हाङहरूको नै स्थानीय शासनमा हात हुन्थ्यो । पल्लो किरातमा पनि लिम्बूहरूका दशजना दलपति ‘हाङ’ हरूले नै वास्तविक शासन चलाउँथे । त्यसै हुनाले पल्लो किरातलाई दश लिम्बुवान भनिने चलन रहेको हो (रमेशकुमार ढुङ्गेल, ‘प्राचीन नेपाल’ सङ्ख्या ११३ (२०४६ भदौ–असोज : ४) ।

यिनै दश लिम्बुवानका नामी सुब्बाहरूमध्ये कोही सेनसँग र कोही सिक्किमसँग निकट सम्बन्ध राख्ने गर्थे । लिम्बुवान गोरखा अधीनस्थ भइसकेपछि कतिपय लिम्बू सुब्बाहरू सिक्किम पसी आफ्नो भूमिका लागि लड्न छाडेनन् भन्ने माथि परिसकेको छ । यसलाई पुष्टि गर्ने एक लालमोहर फेला परेको छ । यो लालमोहरको सक्कल संस्कृतिविद् तथा साहित्यकार विरही काइँलाको सङ्ग्रहमा रहेको छ । रणबहादुर शाहले १८४३ जेष्ठ सुदी २ रोज २ मा फेन्दुवा राय, थेवेसिंह राय, पोतवा राय, यङ्वा रायलगायत १३ जना सुब्बाहरूलाई आफूसँग मिल्न आउन लालमोहर जारी गरेका थिए ।

यो लालमोहरमा ‘हिजो तिमीहरूले पारिबसी लुटपीट गोवध खतछित् ग¥याको सब माफ गरिबक्स्यौं हाम्रा पिछा पर्यापछि गोवध नगर्नू’ भन्ने परेबाट पारि अर्थात् सीमापारिको सिक्किममा रही लिम्बूहरूले लुटपिट गर्दै आफ्नो भूमिका लागि लडिरहेको पुष्टि हुन आउँछ । यो लालमोहरमा सम्बोधन गरिएका अधिकांश लिम्बू सुब्बाहरू तमोर नदीदेखि पूर्वका र ताप्लेजुङ तथा पाँचथरतिरका देखिन्छन् । यताबाट दृष्टि दिँदा वि.सं.१८३१ साउनको सम्झौतामा सहभागी नहुने लिम्बू सुब्बाहरू सिक्किमतिर राजनीतिक शरणमा पुगी त्यता बसेर सीमाक्षेत्रमा गोबध गर्दै, लड्दै बसेका थिए भन्ने सङ्केत मिल्छ ।

कतिपय लिम्बूहरूले सिक्किमलाई केन्द्र सरकार मानेर उनीहरूबाट किपट लिने र थमौती गर्ने सुवाङ्गी परम्परा पनि रहेको थियो । यसका लागि केही लिम्बूहरूलाई गीर्वाणयुद्धविक्रम शाहको समयमा जारी गरेको लालमोहरले पनि पुष्टि गर्छ (‘प्राचीन नेपाल’ सङ्ख्या ९० (२०४२ कात्तिक–मङ्सिरः ३०) ।

वि.सं. १८६९ वैशाख सुदी ५ मा मिंहित राईका नाममा जारी भएको यस लालमोहरमा ‘तेरा बाबु बराजुदेषि षाई विहोरी आयाको किपट जिमिन संलुप्पा तस्को साँध सुवेलुं ढुङ्गो देषि पुर्व लाला सुवा देषि चार किल्ला भित्रका जिमिन सुषिंको राजाले फागुंदेषि फोरि तँलाई नगारा स्मेत भिन्ना पारि सुवांगि थामि बक्सन भयाको रहेछ हाम्रा प्रतापले मिच्यापछि–१ बाट पनि मोहर गरि भिन्न सुवांगी थामि बक्सनु भयाको रहेछ आज हामिले पनि फागुको अलागक गरी सुषिंमले दियाको बमोजिम सुवांगी चार किल्ला भित्र जिमिन थामि बक्स्यौं’ भन्ने परेको छ । यस पत्रको भाकाअनुसार गोरखाले हिजो सिक्किमले लिम्बूहरूलाई सुवाङ्गी दिएको जग्गा आफूहरूको अधीनस्थ भइसकेपछि त्यसलाई फोरेर लिम्बूहरूको सुवाङ्गीलाई निरन्तरता दिएको भन्ने देखिन्छ ।

लिम्बूहरूमा ‘नीति’ र ‘स्मृति’ समूह

लिम्बूहरूमा दुई खालको समूह रहेको थियो तर, समयक्रममा लिम्बूहरू भने आफूहरू विभाजित रहेको यस्तो समूहका बारेमा विस्मृत भइसकेका थिए । बेलायत गई ब्रिटिस लाइब्रेरीमा हज्जन पेपर अध्ययन गरी फर्केपछि इतिहासकार डा. रमेश ढुङ्गेलले प्रवचन तथा लेखनमार्फत् लिम्बूहरूमा ‘नीति र स्मृति समूह’ रहेको ऐतिहासिक तथ्य उजागर गरिदिए ।

गोरखाली शासकहरूले आफ्नो शासन र धर्म–संस्कृति स्वीकार्ने जतिलाई आफू समान रीतिस्थिति मान्ने अर्थात् ‘समरीति’ र लिम्बू धर्म–संस्कृति नछोडी ‘आफ्नै नीति’ मा अडिग रही गोरखाको शासन नमान्ने, विद्रोही लिम्बूहरूलाई ‘नीति’ समूहको रूपमा चिन्ने/चिनाउने चलन चलाइदिए (डा. रमेश ढुङ्गेल, ‘हिमाल’ पूर्णाङ्क १६६ (२०६२ फागुन १६–२९ : ६०–६२) ।

समरीति समूहलाई ‘स्मृति’ तथा ‘संपृति’ समूह पनि लेख्ने गरिएको पाइन्छ ।

लण्डनको ब्रिटिस लाइब्रेरीमा सुरक्षित ब्रायन हज्जनको सङ्कलनमा रहेको सामग्रीको खण्ड ६० पत्र १२९–१४९ मा उल्लेख भएअनुसार संपृति अर्थात् स्मृति समूहमा फागु (फागो चोङ्वाङ), सिरिङ (सेरेङ) र युङ्याहाङ (योङहाङ) रहेका छन् भने ‘नीति’ समूहमा आङ्बोहाङ र साँवाहरू रहेका छन् । यो लेखोट वि.सं. १९०० तिर इलामका जोभानसिंह फागो लिम्बूले लिम्बू भाषा र सिरिजङ्गा लिपिमा पुनर्लेखन गरेर तयार पारेका हुन् (ढुङ्गेल, उही) ।

यसरी समूहगत रूपमा विभाजन गरी लिम्बुवान हत्याउने क्रममा नेपालका तात्कालिक शासक र तिनका सैनिक प्रशासकहरूले अपनाएको ‘फुटाउ र शासन गर’ को नीतिअनुसार यी शब्दको उद्भव र प्रचलनको कारण देखिन्छ । यस क्रममा गोरखाहरूको शासनसँगै मुख्य–मुख्य धार्मिक–सांस्कृतिक परम्परा अपनाउन मञ्जुर गर्ने अर्थात् आत्मसमर्पण गर्नेहरूले गोरखाली राजाबाट विशेष सहुलियत, शान, मान र अधिकारसमेत स्थानीय रूपमा पाउने अवस्था भयो (ढुङ्गेल, उही) ।

ढुङ्गेलले गोरखालीहरूले लिम्बुवान अधीनस्थ गर्नुअघि नै मकवानपुर, विजयपुरतर्फका हिन्दुपति मानिने राजाहरूले पनि आफ्नै किसिमको प्रभाव जमाएका हुनाले पनि ‘संपृति’ र ‘नीति’ जस्तो पहिचानको थालनी भइसक्यो कि भन्ने जिज्ञासामा ठोस प्रमाणका आधारमा यस विषयमा खासै बोल्न सकिने अवस्था छैन भन्ने पनि उल्लेख गरेका छन् । तर, लिम्बूहरूमा यस्तो पहिचान सेनकालमै थियो भन्ने प्रमाण नभएको होइन ।

वि.सं. १८७५ फागुन वदी ६ रोज ३ मा विजयपुर हुँदै धनकुटा पुगेका काजीबहादुर भण्डारीलाई लेखिएको पत्रमा लिम्बूहरूमा सेनकालदेखि नै नीति र स्मृति समूह रहेको स्पष्ट झल्को आउने प्रमाण पाइन्छ । यो पत्रमा ‘लिम्बू किरातीहरूका नीति स्मृतिका कुरामा अघि पनि कोही नीति कोही स्मृति मान्याका हुन् पछि वीरभद्र कुंवर जाँदा स्मृतिमा सबै राजी छन् भनी बिन्ती सर्कारमा आउँदा स्मृतिकै लामोहर भै गयाको हो । पंथ काजी जाँदा हाम्रा ता अघिदेषि स्मृति हो तेसैमा राजी छौं मज(कुर) काजीले नीति गराया भन्छन् भन्या अर्जी उनको आउदा स्मृतिकै लालमोहर भै गएथ्यो फेरि पंथ काजीले नीतिमा राजी छौं भन्छन् भनी लेषता नीतिकै लालमोहर भै गयोथ्यो’ भन्ने उल्लेख छ (ज्ञानमणि नेपाल, ‘नेपाल निरुपण’ (२०५५ : २६९–२७०) ।

ढुङ्गेलले लिम्बूहरूमा स्मृति र नीतिको विषयमा चर्चा गर्नुभन्दा ७ वर्षअघि नै नेपालले यससम्बन्धी पत्र प्रकाशित गरिसकेको देखिन्छ ।

यो पत्रमा ढुङ्गेलले उल्लेख गरेको स्मृति समूहअन्तरगतको सेरेङ चोङ्वाङकै सन्दर्भ नेपालले प्रकाशित गरेको पत्रमा स्पष्टसँग जोडिएको छ । यसमा सेरेङहरूले सेनकालदेखि नै स्मृति समूहअन्तरगत रहेर लालमोहर लिने गरेको देखिन्छ । पत्रमा ‘हाम्रो त अघि सेन राजाका पालामा पनि स्मृति हो (श्री पृथ्वीनारायण शाह) अमल भयापछि पनी हामीलाई स्मृतिमा रहनु भन्या हुकुम लालमोहर बक्सनु भयाको छ । हामी स्मृतिमा राजी छौं भनी फागु सिरिंग्या गैरह दर्वारमा विन्ती गर्न आइरह्याका छन् । एकै मुलुकमा कोही नीति मान्या कोही स्मृति मान्या दुई फ्याक भै रह्या छन् तसर्थ तिमीले लिम्बू किराती गैह्र छ थर दश थर सबै बाटुल गरी बझ्नु र सबैको एक मतो नीति स्मृति क्यामा हुन्छ सो विस्तार लेषनु’ भन्ने परेको छ (नेपाल, उही) ।

यसबाट खासगरी सेरेङ चोङ्वाङहरूले सेनकालदेखि नै स्मृति समूह अन्तर्गत आफूलाई राखेर लालमोहर लिने गरेको स्पष्ट हुन आउँछ । पत्रमा काजीबहादुर भण्डारीलाई नीति वा स्मृतिमध्ये कसले कस्तो किसिमको मोहर लिन चाहन्छ, सोहीअनुसार मुचुल्का उठाई पठाउन र सोहीअनुसार सरकारमा बिन्ती पारी मोहर गराई पठाउन पनि भनिएको छ ।

‘नीति’ समूहलाई कडा दण्ड

आफ्नै धर्म–संस्कृतिमा अडिग रहेर गोरखाली नीतिप्रति असहमत लिम्बूहरूको नीति समूहलाई स्मृति समूहको तुलनामा कडा दण्ड सजायको व्यवस्था राज्यले गरेको थियो । यसबारे प्रमाण पुग्ने एक रुक्काको फोटोकपी इतिहासकार तथा पूर्व प्रशासक भगिराज इङ्नामबाट यो लेखकको हातमा आइपुगेको छ । इङ्नामले यो रुक्का आफ्नो पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ (२०७७ ः १९६–१९७) मा पनि प्रकाशित गरेका छन् ।

वि.सं. १८९७ असोज सुदी ७ रोज ६ मा जारी यो रुक्काअनुसार थुमथुममा रहेका लिम्बूहरूले आफूहरू नीति समूहमा रहँदा १०÷१२ खेत चढाउनुपर्ने चलन थियो भन्ने स्पष्ट रूपमा उल्लेख छ । यसैगरी कामी, दमाई, सार्की र मुसहर जातसँग भुलचुक करणी हुँदा नीति समूहमा रहेका लिम्बूहरूले कडा दण्ड सजायको भागीदार हुनुपथ्र्यो । रुक्कामा ‘थुमथुमपिछे १०–१२ षेत चह्राई नितिमा रहन्या जो लिम्बूहरूलाई अछुत जाति कामि दमाई सार्कि मुसहर जो पानि नचलन्या जातसंग भुलचुकमा करनि भै चन्द्रायन पर्दा आफना रितसंग खोलाटोलामा ढुंगा छुवाई प्रथम घरले रुपैया ७ तिर्नु दोश्रो १ पध्याराका पानि षान्या घरले रुपैया ३।। तिर्नु तेश्रो गाउँफेरामा ।। तिर्नु. अरु संसर्गि घरले आना १ तिरि जाति पतरियमा सुद्ध भै रहनु’ भन्ने परेको छ ।

यसको अर्थ हो, जुन घरका मानिसले ती अछुत भनिएका व्यक्तिसँग करणी बिराउँछ, त्यो घरलाई ७ रुपैयाँ दण्ड जरिबाना तोकिएको थियो । त्यो घरको मानिसले छोएको पँधेरोको पानी चलाउने घरलाई ३ रुपैयाँ ८ आना र गाउँफेरा अर्थात् छरछिमेकलाई ८ आना तथा अरू सम्पर्कमा आएका व्यक्तिलाई १ आना दण्ड जरिबानाको व्यवस्था राज्यले गरेको थियो ।

तर, रकमी डि श्यामलाल पाध्याले ‘नीति’ र ‘स्मृति’मा यस्तो दण्ड सजायको दर एकै प्रकारको गरिदिँदा लिम्बुवानमा विरोधको स्वर उठेको देखिन्छ । पत्रमा ‘कसैलाई कलम बढाई डंड गरिलीया यसो भया हाम्रा थिति पनि रहेन भनि तमोरषोला आठराई फेदाप छथर चौविस्या पाँचथरका सुब्बाहरू हाम्रा हजुरमा विन्ति गर्न आउदा जाहेर भयो. तसर्थ स्मृति वाहेक नितिमा रहन्याले थुमथुमपिछे गाउअनुसारको षेत चह्राई पानि नचलन्या जातसंग भुलचुकमा करनि भै चन्द्रायन गर्न पर्दा आफ्ना ठेकभित्र ढुंगा छुवाई प्रथम घरले रुपैया ७ तिर्नु दोश्रो १ पध्याराका पानि षान्या घरले रुपैया ३।। तिर्नु तेश्रो गाउँफेरामा ।। तिर्नु. अरु संसर्गि घरले आना १ तिरि जाति पतरियमा सुद्ध भै रहनु भनि मोहोर गरि अघि वक्स्याकै रहेछ. सोही वन्देज वमोजिम आज पनि थामिवक्स्यौं’ भन्ने परेबाट पानी नचल्ने भनिएका जातिसँग करणी बिराउँदा नीति समूहका लिम्बूहरूले पाउँदै गरेको कडा खालको दण्ड जरिबानाले निरन्तरता पाएको स्पष्ट हुन आउँछ । समय क्रममा लिम्बूहरूले शासकहरूबाट भोग्नुपरेको अनेक प्रकारका भोग–उपभोग, दुःखसास्ती यताबाट पनि बुझ्न सकिन्छ ।

(यो लेख लेखकको अनुमतिमा एभरेष्टखबरबाट साभार गरिएको हो ।)