इटहरी । बुल्स इलेभेन क्लबले इटहरीको मुख्यचौक आसपासमा सरसफाइ गरेर सामाजिक काम पुःन सुरु गरेको छ ।

कोरोनाभाइरस सङ्क्रमणको महामारीका कारण विगत केहि समय यता अभियानलाई निरन्तरता दिन नसकेको क्लबले शनिबार बिहानबाट अभियान पुन:सुचारु गरेको हो ।

सरसफाइ अभियानमा सक्रिय रहेका दुई दर्जन बढी युवाहरूको समूहले आज शनिबार मुख्यबजारको गोलो चोकमा रहेको बगैँचा पूर्वपश्चिम राजमार्ग र कोसी राजमार्गको दिशा छुट्ट्याउने संरचनाको सफाइ गरेर आकर्षक बनाएका छन् । क्लबका अध्यक्ष पूर्ण राईले आफुहरुको साप्ताहिक सरसफाई अभियान पुन: सुरु गरेको जनाए ।

लामो समयदेखि सामाजिक काममा सक्रिय क्लबले अभियानलाई निरन्तरता दिने अध्यक्ष राईले बताए । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण विगत एक वर्ष सरसफाइ अभियानलाई निरन्तरता दिन नसके पनि शनिबारबाट पुन: सुरु भएको अभियान अब निरन्तर जारी रहने क्लबका अध्यक्ष राईले बताए ।

केही बर्षअघि क्लबमा आबद्ध युवाहरूले इटहरीको प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा भएको झाडी सफाइ गरेर त्यसको रूप परिवर्तन गरिदिएका थिए । यस्तै मुख्यचौकदेखी उत्तरतिर रहेको नेपाल बैङ्क अगाडिको खुला ठाउँलाई व्यवस्थित बनाएका थिए ।

प्रत्येक साताको शनिबार फोहोरसँग खेलिरहने क्लबमा आबद्ध व्यक्तिहरूमा सबै जोशिला युवाहरू रहेका छन । ती युवा समूह आबद्ध भएको बुल्स इलेभेनु क्लब २०५५ सालमा स्थापना भएको हो । फुटबल खेल प्रेमी पूर्ण राईलगायतले क्लबको सुरुवात गरेका थिए ।

इटहरीमा यसभन्दा अघि पनि बेला बेला नागरिक स्तरमा सफाइ हुने गरे पनि त्यसले निरन्तरता पाउन नसकेको अवस्थामा बुल्स एलेभेन क्लबको कामलाई बिर्सन नसकिने इटहरीका नागरिक अगुवाहरूको बुझाइ छ । क्लबका अगुवा रामु राईले आफुहरुको अभियानले इटहरीको सुन्दरतामा सफलता पाएको बताए । हामी निरन्तर सफाई अभियानमा छौ उनी भन्छन् ।

२०५५ सालमा फुटबल खेल प्रेमी पूर्ण राईलगायतले सो क्लबको सुरुवात गरेका थिए । फुुटबल खेलमा ११ जना खेलाडी हुन्छन् । त्यही आधारले क्लबको नाम ‘बुल्स इलेभेन’ रहन गएको हो राईले भने ।

सँगै मिल्ने साथीहरू आ–आफ्नो बाध्यताले अलग–अलगभए । तर इटहरीमा नै रहेका पूर्णले भने क्लबलाई कसरी जीवन्त बनाउने भन्ने सोचे र २०७३ साल चैत २२ गतेदेखि इटहरीको सफाइ अभियानमा नेतृत्व गर्न कम्मर कसे । यो सँगै पुर्णले सामाजिक काम निरन्तर गर्दै आएका छन् ।

अध्यक्ष पूर्ण राई विशुद्ध सामाजिक भावना राखेर यो पवित्र काममा अग्रसर भएको बताउँछन् । ‘धेरैले भन्लान यसले राजनीति गर्दैछ ।

तर मलाइ थाहा छ नेताहरूले हामी जस्ता युवालाई प्रयोग मात्र गर्छन् राईले भने, त्यसैले मैले आफ्नो नेतृत्वमा भएका भाइहरूलाई असल गोरेटोमा हिँड्न र समाजमा घुलमिल भएर बस्न सधैँ हौसला प्रदान गर्ने गरेको छु । उनले आफ्नो प्रयासले एउटा मात्र युवा असल गोरेटोमा हिँड्यो भने पनि सामाजिक योगदान हुने दाबी गर्छन् ।