वैचारिक मतभिन्नता चुलिएको विवेकशील साझा पार्टी फुटको संघारमा पुगेको छ । आज दुई समूहको छुट्टाछुट्टी बैठक डाकिएको छ ।
पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले आज आ–आफ्नो समूहको छुट्टाछुट्टै बैठक बोलाएका छन् । अध्यक्ष मिश्रले मध्यान्ह साढे १२ बजे बैठक राखेका छन् भने संयोजक पाण्डेले बिहान ११ बजे नै बैठक बोलाएका छन् ।
केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने विषयमा मिश्र र पाण्डेबीच कुरा कुरा नमिलेपछि बेग्लाबेग्लै बैठक राखिएको हो । दुबै केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट हुने जनाइएको छ । १३० सदस्यीय केन्द्रीय सदस्य रहेको पार्टीको विधानअनुसार कुनै पनि निर्णय गर्दा सामान्य बहुमत आवश्यकता पर्छ ।
अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रहको प्रस्ताव अगाडि सारेसँगै संयोजक पाण्डेलगायत चार नेताले पनि अर्को प्रस्ताव अघि सारेका छन् । अध्यक्ष मिश्रले पार्टीमा देखिएको अन्योल हटाउन केन्द्रीय समिति बैठक बोलाइएको बताएका छन् भने संयोजक पाण्डेले अध्यक्ष समझदारीमा नचलेपछि बाध्य भएर केन्द्रीय समिति बैठक राख्नुपरेको प्रष्टीकरण दिएका छन् ।
अध्यक्ष मिश्र पक्षले संयोजकलाई केन्द्रीय समिति बैठक राख्ने अधिकार नहुने बताउँदै आएको छ । संयोजक पाण्डे पक्षलेले भने अध्यक्ष र संयोजकको सहमतिमा मात्रै बैठकका एजेन्डा तय गरिनु पर्नेमा जोड दिँदै आएको छ ।
आफ्नो पक्षमा बहुमत जुटाउन यतिबेला दुबै समूह जोडतोडका साथ लागि परेका छन् । गत वर्ष मंसिर २४ तत्कालीन साझा पार्टी र विवेकशील नेपाली दलबीच दोस्रोपटक एकता हुँदै विवेकशील साझा पार्टी बनेको थियो । त्यसअघि २०७४ साउन ११ गते पहिलोपल्ट साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको थियो । तर २०७५ पुसमा रवीन्द्र मिश्र समूहले एक्लै पार्टी चलाउन खोजेको भन्दै तत्कालिन अर्का संयोजक उज्ज्वल थापासहितको समूहले छुट्टै विवेकशील पार्टी दर्ता गरेपछि पार्टी फुटेको थियो ।