विराटनगर । प्रदेश १ प्रदेशसभामा एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका छन् । मंगलबार निर्वाचन आयोगको कार्यालय पुगेर नेकपा एमाले छाेडेर १०जना सांसदले आफू नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका हुन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजन भएको २२ दिनभित्र प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दलमा प्रवेशका लागि सनाखत गराउनुपर्ने हुन्छ । सोही बमोजिम प्रदेश १ प्रदेशसभाका १० एमाले सांसदले उक्त दल त्याग गरी आफू नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका हुन् । नेकपा एमालेका ५१ मध्ये १० जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका हुन् ।
यसरी नेकपा एकीकृत समाजवादीमा निर्वाचन कार्यलयमा पुगेर सनाखत गराउन सांसदहरु भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन् । केहिदिनदेखि सामूहिक रुपमा बसेर छलफल गर्दै आएका उनीहरुले नयाँ दल रोज्नका लागि एक साथ विराटनगरमा रहेको निर्वाचन कार्यालयमा आएर सनाखत गरेका हुन् ।
उनीहरुको सनाखतसँगै अब प्रदेशमा नेकपा एमालेकी सचिब भिम आचर्य नेतृत्वको सरकार ढल्ने निश्चितप्राय भएको छ । प्रदेशसभामा यसअघि एमालेमा ५१ सांसद रहेकोमा १० सांसद एकीकृत समाजवादीमा प्रवेश गरेसँगै एमाले अल्पमतमा परेको छ ।
प्रदेश १ मा कुल ९२ सांसदका आधारमा बहुमतका लागि कम्तीमा ४७ जना सांसद आवश्यक पर्छ । एमालेका १० सांसदले नयाँ दलतिर सनाखत गरेका कारण एमालेसँग पूर्ण बहुमत कायम नरहने देखिएको हो । प्रदेशसभाको बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा १० सांसद समाजवादीमा आबद्ध भएपछि एमालेमा ४१ सांसद रहनेछन् भने बिपक्षी गठबन्धनको बहुमत पुग्नेछ ।
प्रदेशसभामा अहिले नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् । राप्रपाकी ईन्दिरा राईबाहेक सबै विपक्षी गठबन्धनमा आबद्ध रहेकोले समाजवादीमा १० सांसद आबद्ध भएसँगै गठबन्धनको पक्षमा ५० सांसद हुनेछन् ।