धनकुटा/ नेपाली कांग्रेस धनकुटाले आफ्नो पार्टीको नाम जोडेर नेकपा एमाले धनकुटाले स्वास्थ्य सामाग्रीको विषयलाई लिएर यथार्थलाई वंग्याएर तत्थ्यहिन कपोकल्पित ढंगले प्रचार गरिरहेको प्रति गम्भिर आपत्ति जनाएको छ ।
नेपाली कांग्रेस धनकुटाले आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर नेकपा एमाले धनकुटाले कोभिडको महामारीको बेला विपत्तिमा परेका धनकुटेली जनताको लागी ल्याइएको स्वास्थ्य समाग्रीहरुको विषयलाई लिएर पटक/पटक विज्ञप्ती जारी गरेर सत्ताको दुरुपयोग गरेको आरोप प्रति गम्भिर ध्यान आकर्षण भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा वोल्दै नेपाली कांग्रेसका महामन्त्री तथा पुर्व मन्त्री सुनिल वहादुर थापाले आफ्नो पार्टीले सत्ताको दुरुपयोग नभई सदुपयोग गरेको दावी गरे । उनले एमाले धनकुटाका नेताहरुलाई व्यंग्य गर्दै भने आफ्नो पार्टी सरकारमा हुँदा केही गर्न नसक्ने, आज अरुले गरेको पनि देख्न नसक्ने वाँदरे प्रवृति ठिक नभएको औल्याए । महामन्त्री थापाले धनकुटेली जनतालाई कोरोनाकाट वचाउन कोरोनो विरुद्धको खोप तथा विभिन्न स्वास्थ्य सामाग्री ल्याउनु के गल्ती गरे ? भन्दै एमालेको गतिविधिको आलोचना गरे ।
पत्रकार सम्मेलनमा वोल्दै नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राईले कोरोना भाईरसले धनकुटावासीलाई आतंकित पारिरहेको अवस्थामा पार्टीको पहलमा स्वास्थ्य समाग्रीहरु ल्याएको दावी गरे । मन्त्रालयबाट उपलव्ध गराएको स्वास्थ्य सामाग्रीहरु महामन्त्री थापाले ८५ हजार खर्च गरेर ल्याएर स्वास्थ्य कार्यालय र जिल्ला अस्पताललाई वितरण गरिएको राईले स्पष्ट पारे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रावण २५, २८ र भाद्र–१० गते धनकुटाको लागी उपलव्ध गराएको स्वास्थ्य सामाग्री भाद्र ११ गते साँझ महामन्त्री थापा आफै उपस्थित् भएर स्वास्थ्य कार्यालय धनकुटा र जिल्ला अस्पताल धनकुटालाई प्रदान गरेको सचिव राईले वताए । धनकुटेली जनताको स्वास्थ्यलाई ध्यानमा राखेर गरिएको राम्रो कामको उच्च सम्मान गर्नु पर्नेमा उल्टै मिडियावाजी गरेर गलत प्रचार गरिनु नेकपा एमाले धनकुटाको कदम ठिक नभएको धनकुटा कांग्रेसको आरोप छ ।
जहाँसम्म धनकुटा–६ स्थित् प्यासिफिक होटलमा राखिएको स्वास्थ्य सामाग्री १ महिना अघि नै सुर्य वहादुर फाउण्डेशन मार्फत काठमाण्डौंमा सहयोगी साथीहरु र संघ–संस्थाहरुबाट संकलन गरी ल्याएको पत्रकार सम्मेलनमा महामन्त्री थापाले जिकिर गरेका छन् ।
फाउण्डेशनको पहलमा खरिद गरेर ल्याएको स्वास्थ्य सामाग्रीहरुको विषयलाई लिएर सत्य तत्थ्य कुरालाई वंगाएर भ्रम सृजना गर्न खोज्दै नेपाली कांगे्रस र पार्टीको महामन्त्रीलाई बदनाम गर्ने कोशिस गरिएको भन्दै धनकुटा कांग्रेसले गम्भिर आपत्ति जनाइएको छ । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले एमाले धनकुटाले अबको दिनमा स्वास्थ्य समाग्रीको विषयमा फेरी पनि भ्रम सृजना गर्ने खालको गतिविधि गरे नेपाली कांग्रेस धनकुटा इटाको जवाफ पत्थरले दिन तयार रहेको चेतावानी दिए ।
यता नेकपा एमाले धनकुटाले भने कोरोनाको महामारीको बेलामा लाखौं मुल्यको औषधी लगायतका स्वास्थ्य सामाग्रीहरु मन्त्रालयबाट ल्याएर होटल होटलमा राखेको भन्दै आपत्ति जनाउँदै आएको छ । एमालेले धनकुटेली जनताको लागी स्वास्थ्य मन्त्रालयले निःशुल्क उपलव्ध गराएको स्वास्थ्य सामाग्रीमा नेपाली काग्रेस धनकुटाले सर्वसाधरण जनतालाई राजनितिक प्रभाव पार्न खोजेको आरोप लगाउँदै आएको छ । उस्ले भनेको छ–स्वास्थ्य समाग्रीमा नेपाली कांग्रेसको चुनाव चिन्ह र झण्डाको स्टिकर लाएर राजनितिक प्रभुत्व देखाउन खोजेको आरोप लगाउँदै आएको छ । एमालेले तिन दिन भित्र स्वास्थ्य कार्यालयलाई नवुझाए आफूहरुले हस्तक्षेप गरेर वझाउने चेतावानी यस अघि नै दिइसकेको छ ।
नेपाली कांग्रेस धनकुटाले भने आफूहरुले प्यासिफिक–थ्रि होटलमा संकलन गरेर राखेको सामाग्री आगमी भाद्र–१८ गते कांग्रेसको महाधिवेशन सम्पन्न भएपछि वितरण गर्ने पत्रकार सम्मेलनमा जनाएको छ । जिल्ला सभापति पौडेलले धनकुटाको ७ स्थानिय तह अन्तर्गत रहेको पार्टीको संगठन र जिल्लाको ६० वटै वडाको वडा समितिहरुलाई प्रदान गरिने बताएको छ ।
महाधिवेशन अगाडी स्वास्थ्य सामाग्री वितरण गर्दा कांग्रेसको महाधिवेशन प्रभावित हुने आन्तरिक रुपमा पार्टी भित्रै कुरा चलेपछि रोक्नु परेको महामन्त्री थापाले स्पष्ट पारेका छन् । उनले जिल्लाको पार्टी मातहतको संघ संगठनहरुलाई वितरण गर्नको लागी ६० लाख भन्दा वढीको स्वास्थ्य समाग्री ल्याएको समेत दावी गरे ।