धरान । सुनसरीको धरान उपमहानगरपालिका र रामधुनी नगरपालिकाबीच जोड्ने सडकको नाममा सङ्घीय सांसद जयकुमार राईको नाममा राखिने निर्णय गरिएको छ । 

शुक्रबारको त्रीपक्षीय छलफलको क्रममा सांसद राईको नाममा ‘जय मार्ग सडक’ भनी निर्णय गरिएको छ । उक्त सडकमा बजेट पनि सङ्घीय सांसद् जयकुमार राईले नै विनियोजन गरेका छन् । धरान–१९ हरियाली सामुदायिक वन हुँदै जाने सडकको लम्बाइ करिब ७ किलोमिटर छ । उतापट्टि रामधुनी नगरपालिकाको वडा भेट्छ । 

धरानका नगर प्रमुख तिलक राई, रामधुनी नगरका प्रमुख जयप्रकाश चौधरी र जिल्ला वन कार्यालयका प्रमुख दानबहादुर श्रेष्ठसहित बसेको त्रिपक्षीय छलफलले छोटो दूरीको सडक निर्माण गर्ने सहमति गरेको हो । उक्त सडकमा सामुदायिक वन र राष्ट्रिय वन दुवै पर्छ । सडक क्षेत्रमा सखुवा प्रजातिका रुखहरू पनि प्रसस्तै रहेका छन् । 

सडक निर्माण गर्दा लोपोन्मुख प्रजातिमा राखिएको सखुवालाई कटान, छपान गर्न नपाइने प्रावधान छ । उक्त प्रजातिको रुख कटान तथा छपान गर्नुपरेमा मन्त्रिपरिषद् स्तरीय निर्णय गर्नुपर्ने हुन्छ । उक्त निर्णय नभएको अवस्थामा सडकमा भएका रुखहरू काट्न पाइँदैन । सोही कारण पनि जिल्ला वन कार्यालयका प्रमुख श्रेष्ठसहित छलफल गरेको हो । 

छलफलमा प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरिने निर्णय गरिएको छ तर यस्तो क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्नुपर्ने प्रावधान छ । किनकि यस क्षेत्रमा रुखमात्रै नभई जैविक विविधतासँग प्रत्यक्ष जोडिएको छ । त्रिपक्षीय छलफलमा हरियाली मार्ग सडक निर्माण गर्ने समझदारी भएको हो । 

उक्त सडक निर्माण सम्पन्न भएमा रामधुनीमा उत्पादित कृषिजन्य वस्तुहरू धरान ल्याउन सहज हुनेछ भने बिरामीहरूलाई पनि ल्याउन सहज हुने भएको छ । त्यस्तै धरानबाट पनि विभिन्न सामग्री उता लानका लागि सहज हुने बताइएको छ ।