भद्रपुर । नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीहरूको माग पछिल्लो समय भारत र बङ्गलादेशमा बढ्दै गए पनि निर्यात कम हुँदै आइरहेको छ । क्वारेण्टाइन कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ देखि गत आर्थिक वर्ष २०७७/०७८ सम्मको अवधिमा हरेक वर्ष जडीबुटी निर्यात क्रमशः ओरालो लाग्दै गएको हो ।

गत आर्थिक वर्ष २०७७÷०७८ मा पूर्वीनाका काँकडभिट्टा भएर २ करोड २५ लाख २१ हजार ७ सय रुपैयाँ मूल्य बराबरका १ सय ८७ दशमलव ६ मेट्रिक टन विभिन्न प्रजातिका जडीबुटी निर्यात भएको वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले जनाए ।

अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा ३ करोड १३ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको ३ सय १ मेट्रिक टन विभिन्न प्रजातिका जडीबुटी भारत तथा बङ्गलादेश निर्यात भएको उनले बताए ।

गतवर्ष निर्यात कम हुनुमा विश्वमा महामारीका रूपमा रहेको कोभिड १९ को सङ्क्रमण नै रहेको उनले बताए ।  कोभिड १९ सङ्क्रमण नियन्त्रण र रोकथामका लागि जारी गरिएको लकडाउनका कारण सीमानाका ठप्प हुँदा निकासीसमेत रोकिएको उनले जनाए ।

२०७६ चैत २५ गतेसम्म काँकडभिट्टा नाका भएर सामान आइरहे पनि २६ गतेदेखि भारतसँग सीमा जोडिएको नेपालको पूर्वीनाका काँकडभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बङ्गाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सबै सवारी साधन ठप्प भएका कारण पनि निर्यात कम भएको व्यवसायी बताउँछन् ।

आर्थिक वर्ष २०७५/०७६ मा २ सय २९ मेट्रिक टन वा १ करोड ९२ लाख ५५ हजार रुपैयाँ मूल्य बरबारको जडीबुटी निर्यात भएको कार्यालयले जनाएको छ । यसअघिको वर्ष २०७४/०७५ मा २ करोड ३३ लाख ५५ हजार रुपैयाँ मूल्य बराबरको जडीबुटी निर्यात भएको थियो ।

जडीबुटी निर्यात बापत मेची भन्सार कार्यालय काँकडभिट्टाले प्रतिकेजी १ रुपैयाँका दरले राजस्व लिने गरेको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत युवराज विश्वकर्माको भनाइ छ ।

सो नाका भएर विशेषगरी चिराइतो, रिठ्ठा, पदमचाल, सतवरी, मजेठो लगायतका नेपाली जडीबुटी बङ्गलादेश र भारततर्फ निर्यात हुने गरेको उनले जनाए । पछिल्लो समय भारतमा नेपाली जडीबुटीको माग बढेको भए पनि विविध कारणले नेपाली जडीबुटीको निर्यात भारतमा न्यून मात्र हुने गरेको उनको भनाइ छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा पदमचाल १४ दशमलव ५ मेट्रिक टन वा १६ लाख ६७ हजार ५ सय रुपैयाँको र रिठ्ठा ३८ दशमलव ५ प्रतिशत १७ लाख ७१ हजार रुपैयाँ मुल्य बराबरको नेपाली जडीबुटी भारततर्फ निर्यात भएको तथ्याङ्कले देखाएको छ ।

चिराइतो, जटामसी, अमला, मजिठो, विस्पेजलगायतका नेपाली जडीबुटी भारत र बङ्गलादेशतर्फ निर्यात भएको कार्यालयले जनाएको छ ।