यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्र रहेका तीन सडक बाह्रै महिना संचालन ल्याउने नीति लिएको छ । कार्यपालिका बैठकले मूख्य तीन सडकलाइ बाह्रै महिना संचालनमा ल्याउने नीति लिएको हो ।
उक्त नीति अनुसार बाह्रै महिना सवारी साधन संचालन गर्न यासोक—खाल्डे, यासोक—फिदिम र यासोक—पिपलबोटे सडक मर्मत सुधार गर्ने निर्णयमा पुगेको गाउँपालिकाले जनाएको छ । यस अघि नै तीन वटै सडकको प्राविधिक टोलिले अध्यायन गरी प्रतिवेदन तयार गरेको थियो । सडकको प्रकृति हेरी आवश्यक स्थानमा सोलिङ सहितको सडक मर्मत सम्हारको काम गर्ने प्राविधिक शाखा प्रमुख इन्जिनियर महेन्द्र बास्कोटाले बताए ।
कार्यपालिका बैठकले ती सडकहरूकाे मर्मत सम्हार गरी संचालन गर्न ३३ लाख ५ हजार ७ सय ३८ रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले बताए । उनका अनुसार सदरमुकाम पुग्ने फिदिम—यासोक वैकल्पिक सडकको लागि १४ लाख ५८ हजार ३ सय ८६ रुपैया“, यासोक—पिपलबोटेको लागि ७ लाख ३ हजार ३ सय ९५ रुपैयाँ र यासोक खाल्डे सडकमा ११ लाख ४६ हजार ९ सय ५७ रुपैयाँ बजेट विनियोजन गरेको हाे।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ मा तीन सडकलाई मुख्य प्राथमिकता दिएर काम गर्ने भएको छ । पालिका हुँदै तमोर कोरिडोरको छोटो दुरीको यासोक—खाल्डे सडक, त्यस्तै धरान—यासोक नियमित वस सेवा संचालन गर्न यासोक पिपलबोटे सडक मर्मत सम्हार गर्न लागिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ्घले बताए ।
हाल धरान—यासोक बस सेवा जीर्ण सडकका कारण पिपलबोटसम्म नियमित संचालन हुदै आएको छ । त्यस्तै पालिका केन्द्रबाट सदरमुकामसम्मको सडकमा समेत समस्या छ । तत्काललाई तीन वटा सडक मर्मत सम्महार गर्दा ५ वटै वडालाई सहज हुने गाउँपालिकाले विश्वास लिएको छ ।