प्रदेश १ मा एमाले संसदीय दलको बैठक बस्दैः राईले राजीनामा दिने, आचार्य मुख्यमन्त्री बन्दै
विराटनगर । नेकपा एमाले विवाद र विभाजनपछि पहिलो पटक प्रदेश १ को संसदीय दलको बैठक आज बोलाइएको छ ।
आज बोलाइएको बैठकमा संसदीय दलको नेतामा भीम आचार्य चयन गर्ने नेकपा एमाले प्रदेश १ का प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले राजीनामा दिने तयारी गरेका छन् ।
राईको राजीनामापछि माधवकुमार नेपालको साथ छाडेका एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी आजै मुख्यमन्त्रीमा शपथग्रहण गराउने तयारी गरेको उनले बताए ।
‘मुख्यमन्त्री परिवर्तनका लागि बिहीबार बिहान ११ बजे प्रदेशसभा सचिवालयस्थित दलको कार्यालयमा संसदीय दलको बैठक बोलाइएको छ,’ प्रमुख सचेतक राजभण्डारीले भने, ‘दलको बैठकले पार्टीको संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरिनेछ ।’
९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १/१ जना सांसद छन् । एमालेका सांसदमध्ये गुलेफुन खातुन किर्ते कागज मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि फरार छन् । दल विभाजनको स्थितिमा प्रदेशसभामा बहुमत कायम राख्न आवश्यक ४६ सांसदलाई एमालेमा रोक्न चुनौती देखिएपछि मुख्यमन्त्री राईले राजीनामा दिएर सहजीकरण गर्न लागेका हुन् ।
९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९२ जना सांसद छन् । प्रदेश संसदमा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहित १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १/१ जना सांसद छन् । यसअघि माओवादी केन्द्र संसदीय दलका नेता टङ्क आङ्बुहाङ एमालेमा प्रवेश गरेपछि उनी कारबाहीमा परेका छन् ।
एमालेका ५१ सांसदमध्ये १५ जना समाजवादीमा रहेको दाबी सो पक्षले गरिरहेको छ । यद्यपि दोस्रो पुस्ताका नेताहरु एमालेमै रहने र ०७५ जेठ २ गतेकै अवस्थामा पार्टीको संगठनात्मक संरचना र नेतृत्व रहने निर्णय गरेपछि कतिपय सांसदहरुले एमाले छोड्ने सम्भावना कम छ ।
एमालेले आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरेसँगै नयाँ पार्टी नेकपा एकीकृत समाजवादीले पनि आचार्यको सत्तारोहण रोक्न उपायको खोजी सुरु गरेको छ । एमालेले आफ्ना पक्षका सांसद लान सक्ने भन्दै उनीहरुले १ महिने सरकारमा मन्त्री बन्ने लोभमा कोही पर्न नहुने भन्दै अभियान चलाएका छन् ।
मुख्यमन्त्री बन्नका लागि ४७ जना सांसद आवश्यक पर्छ । एमालेका ५१ मध्ये १ जना सभामुख, १ जना गुलेफुन मियाँलाई मुद्दा लागेको कारण हाल एमालेका ४९ जनामात्रै सांसद छन् । समाजवादीमा गएका केही सांसद एमालेमै रहे भने पनि बहुमत पुर्याउने गरी सांसदलाई एमालेले टिकाउनै समाजवादीमा लागेका एक सांसदले बताए ।
स्रोतकाअनुसार फौजदारी अभियोग लागेकी गुलेफुन मियालाई पनि संसदीय दलको बैठकमा सहभागी गराउने तयारी एमालेले गरेको छ ।