प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन हुने तीव्र बहस र अड्कलका बीच आज नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठक बस्दैछ । 

बैठकले संसदीय दलको नेता चयन गर्ने हल्ला चलेको छ । तर नेकपा एमालेका नेताहरुले यसको पुष्टि गरेका छैनन् । प्रदेश सभा सदस्य तुलसीप्रसाद न्यौपानेले ९ बजे बैठक बोलाइएको बताए । 

‘हल्लाका विषयमा हामीलाई केही जानकारी गराइएको छैन, माथि दुई नेताहरु बसेर आपसी छलफल गरे भनेमात्रै अहिले त्यस्तो सूचना आएको  छैन,’ सांसद न्यौपानेले भने, ‘९ बजेका लागि बैठक बोलाइएको छ ।’ 

बैठकले संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गर्ने र आचार्यले आजै मुख्यमन्त्रीको सपथ लिने सम्भावना रहेको राजनीतिक वृत्तमै हल्ला छ ।

स्रोतका अनुसार आचार्यलाई मुख्यमन्त्री बनाउँदा प्रदेशमा एमाले नटुक्रिने भएपछि मुख्यमन्त्री शेरधन राई स्वयम्ले आचार्यका लागि मार्गप्रशस्त गर्न लागेका हुन् । 

०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन राईले २६ मत प्राप्त संसदीय दलका नेता चयन भएका थिए भीम आचार्यले २४ मत पाएका थिए । 

९३ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सदस्य छन् । मुख्यमन्त्रीका लागि ४७ मत आवश्यक छ ।