उर्लाबारी । कोभिड महामारीको समयमा पनि उर्लाबारी–६ सूर्यचौकको सूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक सूचाङ्क वृद्धि भएको छ ।

उक्त सहकारी संस्थाले अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा विभिन्न सूचाङ्कमा १४ देखि ३७ प्रतिशतसम्म वृद्धि गरेको हो । संस्थाले अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा सेयर पुँजीमा १० प्रतिशत, शेयर संख्यामा १४ प्रतिशत, कुल सम्पत्तिमा ३१ प्रतिशत र बचतमा ३७ प्रतिशतले वृद्धि गरेका संस्थाका अध्यक्ष तेजनाथ घिमिरेले बताए ।

अठार वर्षअगि उर्लाबारी र मिक्लाजुङलाई कार्य क्षेत्र बनाई स्थापना भएको उक्त सहकारीमा हाल ३ हजार १ सय ३७ जना शेयर सदस्य रहेका छन् । मुख्य कार्यालयसहित ३ वटा केन्द्रमा सेवा केन्द्र रहेको उक्त सहकारीले चालु आर्थिक वर्षको अन्त्य सम्ममा थप केही स्थानमा सेवा केन्द्र स्थापना गर्ने योजना रहेको बताउँदै अध्यक्ष घिमिरेले सबै सूचाङ्कहरूमा समेत २० प्रतिशतभन्दा बढी वृद्धि गर्ने बताए । सो संस्थाले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयर सदस्यलाई १८ प्रतिशत मुनाफा वितरण गर्ने कार्यालय प्रमुख मदनकृष्ण बरालले बताए ।